Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभाडा लिष्ट नटाँसे कारबाही

भाडा लिष्ट नटाँसे कारबाही


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । महाशाखाले शुक्रबारदेखि अभियानकै रूपमा भाडादर टाँस्ने कार्यको थालनी गरेको छ ।

सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए । उनले सवारीसाधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिए ।

यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेको भन्दै काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरे ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । त्यस्तै महाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनउपर पनि कडाइका साथ कारवाही अभियानमार्फत कारबाही गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया