Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय उडान न्यून

अन्तर्राष्ट्रिय उडान न्यून


काठमाडौं ।
पछिल्लो समय भारतको विस्तारा र कुवेतको जजिरा एयरवेजले उडान भरेसँगै नेपालमा उडान भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको थियो तर कोभिडको प्रभाव परेपछि उनीहरुले नेपालमा नियमित उडान भर्न नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय अर्थात् कोभिडभन्दा अघि नेपालसहित विश्वका १४ वटा मुुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएका थिए तर कोभिडका कारण कतिपय मुलुकले अन्तर्राष्ट्रिय उडान खुल्ला नगर्दा ती मुलुकका एयरलाइन्सले नेपालमा समेत उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले आर्थिक दैनिकलाई बताए ।

यद्यपि ती मुलुकका एयरलाइन्सहरुले उडान नै नभरेको अवस्था भने नभएको बताउँदै उनले भने, ‘अहिलेको परिस्थितिमा यात्रु कमी हुँदा समेत उनीहरुले उडान नभरेका हुन् । भारतबाट कुनै पनि एयरलाइन्सले उडान भर्न सकेका छैनन् भने चीन, भुटान, दक्षिण कोरियालगायतका मुलुकहरुले समेत सहज तरिकाले नेपालमा उडान भर्न सकेका छैनन् ।’ उनका अनुसार ती एयरलाइन्सहरुले आक्कलझुक्कल मात्र उडान भर्ने गरेका छन् । विशेष गरी अहिले कार्गोको लागि एयरलाइन्सहरुले विभिन्न गन्तव्यमा उडान भर्ने गरेका छन् ।

यस्तै त्रिभुवन विमानस्थलका अधिकारीहरुले भने सामान्य अवस्थामा दैनिक ४५ देखि ५५ उडान हुने गरेकोमा हाल त्यो नभएको बताए । विमानस्थलमा कार्यरत एक अधिकारीले हाल कोभिडको असरकै कारण दैनिक १५ देखि १८ वटा उडान हुने गरेको बताए । ‘विशेष गरी नेपाल र चीनबीच धेरै उडान हुने गरेको छ, त्यसमा पनि सीमित एयरलाइन्सहरु रहेका छन्’, अधिकारीले भने, ‘चीनमा कार्गो लिन जाने तथा त्यहाँबाट कार्गो लिई आउने एयरलाइन्सहरु अर्थात् नेपाल एयरलाइन्स र चीनका एयरलाइन्स रहेका छन् ।’

प्राधिकारणका अनुसार कोभिडकै कारण नेपाल र भारतबीच हुने उडान ठप्प छ । भारत कोरोनाबाट प्रभावित रहेको कारण नै नेपाल र भारतबीच एयरलाइन्सहरुको उडान हुन नसकेको हो । यसअघि नेपालसहित भारत, चीन, भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमन, टर्कीका एयरलाइन्स अर्थात् ती मुलुकमा रहेका एयरलाइन्स कम्पनीहरुले नेपालमा उडान भर्ने गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी चीनको छवटा, भारत र युएईको क्रमशः तीन/तीनवटा एयरलाइन्सले नेपालमा उडान भर्ने गरेका थिए । प्राधिकरणका अनुसार चीन र भारतसँगै थाइल्याण्ड, ओमन, भुटानका क्रमशः दुई/दुईवटा एयरलाइन्स र बंगलादेश, दक्षिण कोरिया, कुवेत, कतार, सिंगापुर, टर्कीको एउटा एयरलाइन्सले नेपालमा उडान भर्ने गरेका थिए भने कोभिडकै कारण यात्रु संख्या कम हुँदा उडान खुम्चिन पुगेको हो ।

चीनको एयर चाइना, क्याथे ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न एयरलाइन्स, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स र भारतको एयर इन्डिया, इन्डिगो (इन्टर ग्लोब एभिएसन लिमिटेड), विस्तारा (टाटा साई एयरलाइन्स लिमिटेड) र युएईको एयर अरेबिया, इत्तेहाद एयरवेज र फ्लाई दुबईले नेपालमा उडान भर्दै आएका थिए ।

त्यसैगरी भुटानको रोयल भुटान एयरलाइन्स र भुटान एयर, ओमानको ओमान एयर, सालामा एयर र थाइल्याण्डको थाई एयरवेज इन्टरनेशनल, थाई लायन तथा बंगलादेशका विमान बंगलादेश, दक्षिण कोरियाको कोरियन एयर, कुवेतको जजिरा एयरवेज, सिंगापुरको सिल्क एयर, मलेसियाको मलेसिया एयरलाइन्स, मालिन्दो एयर, कतारको कतार एयरवेज र टर्कीको टर्किस एयरलाइन्सले नेपालमा उडान भर्ने गरेको प्राधिकरणले जनाएको छ ।

नेपालको हकमा भने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरलाइन्सले नेपालका साथै विभिन्न मुलुकमा उडान भर्दै आएकोमा कोभिडकै कारण उनीहरुको उडान समेत प्रभावित बनेको छ  । अब पुनः सबै मुलुकको एयरलाइन्सले नेपालमा उडान भर्नको लागि सामान्य अवस्था आउनुपर्ने प्राधिकरण तथा विमानस्थल अधिकारीहरुको भनाइ छ । उनीहरुले आक्कलझुक्कल उडान भरे पनि ती मुलुकका एयरलाइन्सले नियमित उडान भर्न भने अवस्था सामान्य हुनु आवश्यक रहेको बताए


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया