Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा

महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई समेत साथमा राखी सोमबार एक कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा उनले आफू २८ वर्षयता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेकोले महासंघ हाक्न आफू सक्षम रहेको बताए । उनले सबै व्यावसायिक समस्याहरूको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने दाबी गरे । उनले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । आफूलाई भावि अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकाललाई सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडि आउने विश्वास गरेको बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई हटाउने बताए । महासंघलाई पूर्वअध्यक्षहरूले राजनीति गर्ने थलो बनाएको भन्दै उनले अव महासंघलाई निर्वाचित व्यक्तिहरूले नै हाँक्ने बताए । उनले भने, ‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ राजनीतिको क्यान्सर । अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ ।’ उनले अगाडी थपे, ‘अब जो निर्वाचित व्यक्तित्वहरू हुनुहुन्छ उनीहरूले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ । अरु कोही व्यक्ति जो निर्वाचित छैनन्, उनीहरूको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिँदैनौँ । किनभने यो सबै विकृति हो ।’

सबै पूर्वअध्यक्षहरूसँग सल्लाह र सुझाव लिने तर उनीहरूको राजनीतिमा नपर्ने गोल्छाले बताए । निर्वाचित हुनेहरू मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफूले नेतृत्व गर्ने समूहले अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने उनको भनाइ थियो । आफूले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पष्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरू सक्षम हुने समेत बताए । उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रूपमा मात्रै सीमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि चन्द्र ढकालले पनि महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया