Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘कोभिडबाट सिर्जित आर्थिक संकटलाई पार लगाउन महासंघमा बलियो नेतृत्वको आवश्यक’

‘कोभिडबाट सिर्जित आर्थिक संकटलाई पार लगाउन महासंघमा बलियो नेतृत्वको आवश्यक’


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिडबाट सिर्जित आर्थिक संटकलाई पार लगाउन महासंघमा बलियो नेतृत्व आवश्यक रहेको बताएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने उनले बताए ।

काठमाडौंमा सोमबार भएको उनको टोलीका पदाधिकारीसहितका उम्मेदवारहरुसँग अन्तक्र्रिया गर्दै उनले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवर्द्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्नु अबको महासंघको जिम्मेवारी रहेको बताए ।

‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन, त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाइराख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ’, उनले भने, ‘त्यसैले हामीले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको छ, महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’

महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरबपूर्ण इतिहास र ओज कायमै रहने उनले बताए । महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेमा उनको जोड थियो । महामारीको यो बेलामा अहिले ज्यान जोगाउन र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने उनले बताए ।

नेतृत्व भनेको संकटको समयको सारथी रहेको भन्दै उनले यस्तै दुःखको बेला नै नेतृत्वको पहिचान हुने उनले बताए । साथै उनले आफू महासंघको नेतृत्वमा पुगे सबैले सम्झिनसक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने बताए । प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल ऊँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ लाग्न पनि उनले सबैलाई आग्रह गरे । आफ्नो समूह अबका सबै चुनौतीको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकोले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।

उनले भने, ‘हाम्रो यो समूह सबै मुलुकको व्यापार व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला/नगर देखि नीतिगत तहसम्म पहूँच पु-याउन सक्छ ।’ कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै पर्याप्त नहुने बताउँदै उनले त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको बताए ।

देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ गर्नसक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउने बताए । सो अन्तर्क्रियात्मक भेलामा ढकाल समूहबाट उम्मेदवारहरु उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघईलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया