Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाललाई सहयोगको आश्वासन बाँड्दै भारत

नेपाललाई सहयोगको आश्वासन बाँड्दै भारत


काठमाडौं ।
पछिल्लो समयमा नेपाल र भारतबीच सम्बन्ध राम्रो बन्नसकेको छैन । २०७२ सालमा संविधान जारी भएसँगै नेपाल र भारतबीच बिग्रिएको सम्बन्ध कालापानीको सीमा विवादमा आएपछि कटुतापूर्ण बनेको थियो । अझै नेपालको संघीय संसद्ले सर्वसम्मत रुपमा कालापानी क्षेत्र समेटेर बनाएको नक्सा र निशानछाप प्रयोगमा ल्याएपछि भारतले नेपाललाई चीनको उक्साहटमा लागेको समेत आरोप लगायो । भारतीय मिडियाले नेपालविरुद्ध गलत प्रचार गरे ।

कालापानी समेटेर नेपालले नक्सा नै बनाएपछि भारतीय सेनापति मनोज मुकुन्द नरवाणेले नेपालले कसैको उक्साहटमा लागेर यस्तो गरेको भनेर गम्भीर आरोप लगाए । नेपालको बारेमा झूट कुरा बोल्ने उनै नरवाणेले बुधबारबाट नेपालको भ्रमण गर्दै छन् । उक्त भ्रमणले दुई देशका सेनाबीच राम्रो सम्बन्ध बन्ने बताइए पनि उनको भ्रमणको मुख्यो उद्देश्य नै नेपाल र भारतबीच बिग्रिएको सम्बन्धलाई सुधार गर्ने विषयमा केन्द्रित हुने अनुमान गरिएको छ ।

नेपाल भ्रमणको क्रममा नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनाध्यक्षका उपाधि लिनेछन् । नयाँ सेनापति बन्नासाथ एक अर्को देशको भ्रमण गरेर मानार्थ सेनाध्यक्षको उपाधि लिने चलन पुरानो हो । तर, नरवाणे सेनापति बनेपछि नेपालको भ्रमण भएको थिएन । नेपाल भ्रमणको क्रममा नरवाणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् । केही दिनअगाडि प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा भारतीय गुप्तचरका प्रमुखसँग भेटवार्ता गरेका थिए । आज बुधबार बिहान साढे ११ बजे नेपाल आइपुग्ने नरवाणे शनिबार मात्र भारत फर्किनेछन् ।

नरवाणेको भ्रमणको ठीक अघिल्लो दिन मंगलबार नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले नेपाललाई सहयोगको आश्वासन दिएका छन् ।

भारतले गुप्तचर र सेनामार्फत सम्बन्ध सहजीकरण गर्दै दूतावासमार्फत सहयोगका आश्वासन दिनथालेको हो । पछिल्लो समयमा कोरोनाको कारण अर्थतन्त्र थिलथिलो भएपछि नेपाललाई वैदेशिक सहयोगको जरुरत छ । यही मौकामा भारतले आर्थिक सहयोग गर्ने भन्दै नेपाललाई आफ्नो प्रभावमा पार्ने कोशिस गरेको हो । भारतले जति कोशिस गरे पनि नेपाल सरकार कालापानीको विषयमा पछि फर्किन भने सहज छैन । संसद्ले सर्वसम्मत रुपमा कालापानी नेपालको भएको भन्दै त्यसलाई समेटेर नक्सा बनाउने काम गरिसकेको छ । भारत कालापानी आफ्नो बनाउन चाहन्छ र बरु त्यसको बदलामा घुमाउरो तरिकाले अरु कुनै सीमा विवादित भू–भाग छाड्न लचिलो हुन सक्तछ ।

भारतले सहयोग दिन चाहेको बेला नेपालको सरकारले पनि सहयोगको हात पसार्ने पक्काजस्तै छ । मंगलबार भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले भारतीय दूत क्वात्रालाई भूकम्पपछिको पुनर्निर्माणमा भारतले सहयोग गरेकामा धन्यवाद दिँदै थप सहयोगको अपेक्षा गरेका बताएका थिए ।

भेटवार्तापछि अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी तथा कोभिड–१९ को महामारी नियन्त्रणलगायतका विषयमा छलफल भएको जनाइएको छ । उक्त भनाइले पनि नेपालले भारतसँग आर्थिक सहयोगको प्रस्ताव गरेको प्रष्ट भएको छ । नेपालले स्वास्थ्यलगायतका क्षेत्रमा भारतीय सहयोग मागेको छ भने केही ठूला परियोजनामा लगानी गर्न पनि भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो समयमा भारतले नेपालका ठूला परियोजनामा हात हालेको छैन । सम्बन्ध सुधार भएमा आर्थिक सहयोग गर्ने आश्वासन भारतले दिँदै अहिले राजदूत तहमा वार्ता गराएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतले नेपालको पूर्वाधार विकासमा विगतदेखि नै सहयोग जारी राखे पनि पछिल्लो समयमा नयाँ कार्यक्रममा भारतले चासो दिएर हात हालेको छैन । तर, अहिले पनि विभिन्न परियोजनामा भारतीय सहयोग जारी छ । त्यस्तो सहयोग विगत केही वर्ष अगाडिदेखि सुरु भएर निरन्तरता पाएको मात्र रहेको स्रोतले जानकारी दिएको छ । सम्बन्धमा सुधार आएमा थप सहयोगको आश्वासन भारतले राजदूतमार्फत दिएको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया