Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकतारी राजकुमारसहितको टोली आमादब्लम हिमालको आधार शिविरमा

कतारी राजकुमारसहितको टोली आमादब्लम हिमालको आधार शिविरमा


महेन्द्र शाही
सोलुखुम्बु ।
कतारका राजकुमार शेख मोहमद बिन अब्दुल्लासहितको टोली सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेको छ । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताएका छन् ।

कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दशैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन र नेपाली गरी १४ जना रहेको बताइएको छ । आरोहणको व्यवस्थापन मिलाएको हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको बताए । मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकाएर काठमाडौं फर्किने कार्यतालिका रहेको उनको भनाइ छ । सोलुखुम्बु जिल्लामा अवस्थित छ हजार आठ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

यसअघि बहराइनका राजकुमार मोहम्मद अल खलिफा नेतृत्वको टोलीले २९ असोजमा आठ हजार एक सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले १७ असोजमा छ हजार एक सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो । अहिले हिमाल आरोहणको सिजन हो । कोरोनाले सबै क्षेत्रमा प्रभाव पारेको यो समयमा विदेशका विशिष्ट व्यक्तिहरू हिमाल आरोहाणका लागि आउनु सुखद भएको पर्यटन व्यवसायीको भनाइ छ । व्यक्तिको आगमनले तहसनहस भएको पर्यटन क्षेत्रमा र देशको आर्थिक अवस्थालाई पनि टेवा पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया