Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा अलपत्र युवाहरुको उद्धार कल्यणकारी कोषबाट

विदेशमा अलपत्र युवाहरुको उद्धार कल्यणकारी कोषबाट


काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा अलपत्र युवाहरुको उद्धारको लागि वैदेशिक रोजगार कल्यणकारी कोषको रकम खर्चे गरेको छ । विदेशमा अलपत्र परेका युवाहरु मुलुक फर्किन नसकेको अवस्थामा कोषको रकम प्रयोग नगरेको भन्दै तीव्र आलोचना भएपछि मन्त्रालयले कोषको रकम खर्च गरी उद्धार प्रयास थालेको हो ।

सर्वोच्चको आदेश र मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिकाअनुरुप विदेशमा अलपत्र युवाहरुको उद्धार कल्याणकारी कोषबाट गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सर्वोच्चले भदौ पहिलो साता सरकारलाई कल्याणकारी कोषको रकम खर्च गरी उद्धार गर्न आदेश दिएको थियो । विदेशमा अलपत्र परेका युवाहरुको उद्धारको लागि बोर्डले असोजसम्म ३० लाख रुपैयाँ खर्च गरेको तथा आर्थिक सहायताको नाममा २४ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले मलेसियामा अलपत्र परेका युवाहरुको उद्धारको लागि मात्र ३० लाख रुपैयाँ पठाइएको बताए ।

त्यसैगरी कोभिडलगायत अन्य कारण अलपत्र परेका नेपाली कामदारहरुलाई कोषको रकमबाट उद्धारका लागि सम्बन्धित नियोगहरुसँग नियमित सम्पर्क तथा समन्वय भइरहेको प्रवक्ता सुवेदीले बताउँदै यसै सिलसिलामा तीन महिलासहित ३९ जनाको उद्धारका लागि विभिन्न मुलुकका नेपाली राजदूतावासहरुमा पत्राचार गरी अनुरोध गरिएको बताए ।

यस्तै बोर्डले विदेशमा समस्यामा परेका, अंगभंग भएका, शव उद्धार, उपचारलगायतका शीर्षकमा आर्थिक सहायतास्वरुप असोजसम्ममा करोडौँ रुपैयाँ खर्च गरेको जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विविध कारणले मृत्यु भएका एक महिलासहित दुई सय ६८ जना मृतक कामदारको शव त्रिभुवन विमानस्थलदेखि निःशुल्क रुपमा सम्बन्धित मृतकको घर ठेगानासम्म ढुवानी गरिएको छ भने सम्बन्धित परिवारको तर्फबाट सहमति प्राप्त भएका कुल दुई सय ३४ जनाको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गरिएको छ । यसरी सहमति प्रदान गर्ने कार्यअगाडि बढाइएको छ । सम्बन्धित मुलुकमा अन्त्येष्टि गरिएका दुई सय ३४ जना नेपाली कामदारमध्ये एक सय ३१ जना कारोना संक्रमणका कारण मृत्यु भएको जानकारी समेत सम्बन्धित नियोगहरुबाट प्राप्त हुन आएको छ ।

बोर्डले कोभिडको कारण समस्यामा परी स्वदेश फर्किएका नेपाली कामदारहरुको तथ्यांक संकलनका लागि त्रिभुवन विमानस्थलको आगमन कक्षमा चौबीसै घण्टा थप जनशक्ति परिचालका लागि आवश्यक समन्वय र व्यवस्थापकीय सहयोग समेत प्रदान गरेको छ । यसैबीच बोर्डले कोभिडका कारण समस्यामा परेकालाई उद्धारपछि पनि स्वदेशमा विभिन्न कार्यक्रम ल्याउनु आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कोभिडलगायतका कारण समस्यामा परी फर्किएका नेपाली कामदारहरुलाई सामाजिक एवं आर्थिक पुनः एकीकरण गर्ने उद्देश्यले सचिवालयबाट तयार पारिएको पुनः एकीकरण कार्यविधि (सञ्चालन तथा व्यवस्थापन, २०७७) को मस्यौदा छलफल एवं निर्णयार्थ बोर्डको बैठकमा पेश गरेको छ । बोर्डको आगामी बैठकमा निर्णय भई मन्त्रालयबाट नीतिगत रुपमा सहमति प्राप्त भएपछि कार्यक्रम कार्यान्वयनमा लाने गरी सचिवालयबाट आवश्यक तयारी पूरा गरिसकेको छ ।

मन्त्रालयका साथै सरकारको कोभिडका कारण विदेशमा अलपत्र परेका युवाहरुको उद्धारको लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले समेत युवाहरुको उद्धार गरेको पाइन्छ । केन्द्रका अनुसार कोभिडका कारण वैदेशिक रोजगारीमा गई अलपत्र परेका विभिन्न कारणले विदेशमा अलपत्र परेका नागरिकहरुमध्ये एक लाख २९ हजार सात सय ३७ जनालाई उद्धार गरिएको बताइएको छ । यसरी सरकारले कोभिडका कारण विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया