Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकेन्द्र सरकारको नीति विपरीत धमाधम लकडाउन

केन्द्र सरकारको नीति विपरीत धमाधम लकडाउन


काठमाडौं ।
केन्द्र सरकारको नीतिविपरीत स्थानीय तह र जिल्लामा धमाधम लकडाउन लगाउन थालिएको छ । केन्द्र सरकारले कोरोना नियन्त्रणका लागि न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्न भने पनि स्थानीय तहहरुले आफूखुसी लकडाउनको नाममा बन्द गर्न थालेपछि दैनिक कमाइ गरेर खानुपर्ने सर्वसाधारणको जनजीवन थप कष्टकर बन्ने पक्का भएको छ ।

‘लकडाउन र निषेधाज्ञाले कोरोना नियन्त्रण गर्न कुनै किसिमको सहयोग नगरेको पुष्टि भइसक्दा पनि स्थानीय प्रशासन र स्थानीय तहले त्यही असफल नीतिलाई निरन्तरता दिनु भनेको देशको अर्थतन्त्र थप ध्वस्त पार्ने प्रयास मात्र हो’, नेपाल उद्योग वाणिज्य महासंघका एक नेताले आर्थिक दैनिकसित भने, ‘हामीले केन्द्रमा अर्थमन्त्री, स्वास्थ्य मन्त्रीलगायत सबैसँग कुरा गरेका थियौं । उहाँहरुले अब लकडाउन र निषेधाज्ञा भन्ने हुँदैन भन्नुभएको थियो । तर, अहिले स्थानीय तहहरु राजा भएर निस्किए ।’

लकडाउनले कोरोना नियन्त्रणमा सहयोगी भूमिका नखेलेको र अर्थतन्त्र बचाउन भन्दै सरकारले गत साउन पहिलो साताबाट लकडाउन अन्त्य गरेको थियो । त्यसपछि निषेधाज्ञाको नाममा देशलाई ठप्प बनाउने काम भयो । त्यसबाट पनि कोरोना नियन्त्रण हुनुको सट्टा बढेपछि सरकारले निषेधाज्ञा पनि हटाएको छ । अहिले फेरि स्थानीय तहले विभिन्न ठाउँमा बन्द गर्न थालेका छन् । यसले विकास निर्माणको पनि ठप्प हुनेछ । तर, सरकारले विकास निर्माणको काम सुचारु गर्न भन्दै आएको छ । केन्द्र सरकारले स्वास्थ्य मापदण्डमा रहेर काम गर्नु भने पनि स्थानीय तह र स्थानीय प्रशासनले सजिलोको लागि आवतजावतमा प्रतिबन्ध लगाउनुले जनस्तरबाट सरकारको थप आलोचना हुने पक्काजस्तै छ ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ । बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्गलबार रातिसम्म एक साताको लागि लकडाउन गर्ने घोषणा गरेको हो । यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने बताइएको छ ।

बैंक तथा वित्तीय संस्था, सामाजिक संघ/संस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ । यसले अर्थतन्त्रमा गम्भीर धक्का दिनेछ । नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्किन नगरबासीलाई सचेत गराएको छ । यस्तो व्यवस्था गत चैतदेखि दशैँ अगाडिसम्म देशभर नै कुन न कुनै रुपमा थियो । तर, कोरोनाको संक्रमण झनै बढेको छ ।

मास्क लगाउने, समूहमा हिँड्डुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन कडाइ गर्नुपर्नेमा सबै बन्द गर्नाले जनतालाई भोकमरीतर्फ धकेल्ने काम स्थानीय तहबाट भएको छ । यस्तै, हिमाली जिल्ला डोल्पामा पनि केन्द्र सरकारको नीतिविपरीत अर्को बदमासी त्यहाँको स्थानीय प्रशासनले गरेको छ । अहिले डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ ।

डोल्पा घुम्न आएका पर्यटकलाई ७२ घण्टा अघिको कोरोना परीक्षण रिपोर्टसहित आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिने बताइएको छ । डोल्पाको फोक्सुण्डो ताल र झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पालगायतका ठाउँको अवलोकन गर्न काठमाडौँ, पोखरा, झापालगायतका ठाउँबाट पर्यटक जानथालेको बेला बन्द गरिएको हो । पूर्वको पाँचथरमा पनि फिदिममा बुधबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएको भन्दै १५ दिनका लागि बन्दाबन्दी जारी गरिएको छ । यसले त्यहाँको जनजीवन थप कष्टकर बन्ने पक्का छ ।

जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत बुधबार मध्यरातबाट आगामी मंसिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावश्यकबाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

केन्द्र सरकारले भने व्यवसायीसँगको छलफलमा देशभर लकडाउन वा निषेधाज्ञा नहुने बताएको थियो । केन्द्र सरकारको नीतिविपरीत पर्वत जिल्लाका चारवटा स्थानीय तहमा पनि निषेधाज्ञा लगाइएको छ । अन्य जिल्लाहरुमा पनि विभिन्न नाममा बन्द गर्न थालिएको छ । यसले जनताको जनजीवनलाई थप असहज पार्ने पक्का भएको छ ।

३३ सय ९ जना नयाँ संक्रमण : देशभरमा बुधबार कोभिड–१९ का तीन हजार ३ सय ९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८ सय ४४ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार ३ सय ४ रहेका छन् ।

प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमणमुक्त भएका तीन हजार ८ सय ४४ समेत गरी बुधबारसम्म एक लाख ४४ हजार ९ सय ७८ सङ्क्रमणमुक्त भएको जानकारी दिए । निको हुने दर ७९ दशमलव तीन प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९ सय ११ पुगेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा बुधबार एक हजार ८ सय ७८ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा एक हजार ५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा थपिएका सङ्क्रमितमध्ये एक हजार १ सय ४१ पुरुष र ७ सय ३७ महिला छन् । उपत्यकाकाका काठमाडौँमा १६ हजार ४ सय २०, ललितपुरमा दुई हजार २ सय ७४ र भक्तपुरमा एक हजार १ सय १४ सक्रिय सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेसनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ९ सय ३१, ललितपुरमा दुई हजार २ सय ४५ र भक्तपुरमा एक हजार ७ सय ३० छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार १ सय ४४ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ९४ हजार १ सय २२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५१ हजार २ सय २ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या एक हजार ३ सय ५ छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३० हजार १ सय ३१ होम आइसोलेसन र छ हजार ७ सय ८० संस्थागत आइसोलेसनमा छन् ।

प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा पाँच हजार ३ सय ९, प्रदेश नं २ मा एक हजार ११, वाग्मतीमा १८ हजार ४३, गण्डकीमा एक हजार ७ सय १०, लुम्बिनीमा दुई हजार ७ सय ३८, कर्णालीमा २ सय ७० र सुदूरपश्चिम प्रदेशमा ९ सय ८० रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनतर्फ प्रदेश १ मा १ सय १२, प्रदेश २ मा ३८, वाग्मतीमा पाँच हजार १ सय ८५, गण्डकीमा ८ सय ९५, लुम्बिनीमा ४ सय ४९, कर्णालीमा ४४ र सुदूरपश्चिम प्रदेशमा ५७ रहेको छ ।

देशभरमा बुधबार ३ सय ७९ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४८, प्रदेश २ मा आठ, वाग्मतीमा १ सय ७९, गण्डकीमा ८६, लुम्बिनीमा ४८, कर्णालीमा चार र सुदूरपश्चिममा छ सङ्क्रमित आईसीयूमा छन् । त्यस्तै प्रदेश १ मा १३, वाग्मतीमा ५०, गण्डकीमा आठ, लुम्बिनीमा चार र सुदूरपश्चिममा तीन गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो ।

१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुईमा शून्य : बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । बुधबार मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया