Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी

कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी


पोखरा ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोनाका कारण गण्डकी प्रदेशले पर्यटनमा दैनिक १३ करोड रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभामा उनले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताए । यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवर्द्धनमा लागेको उनले जानकारी दिए ।

कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको एक अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने उनको भनाइ थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए । कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए ।

कार्यक्रममा टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै सङ्कटमा परेको बताए ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटालगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे । अधिवेशन तथा साधारणसभाका अवसरमा सङ्घका तर्फबाट नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया