Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध

तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध


काठमाडौं ।
सरकारले आउँदो तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाउने भएको छ । ‘मानिसहरू भेला भएर गरिने सामूहिक कार्यमा अहिले पनि प्रतिबन्ध नै छ’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘आवश्यकताअनुसार सबै जिल्लामा स्थानीय प्रशासनले सूचना नै निकालेर देउसी भैलो खेल्न प्रतिबन्ध लगाउनेछ ।’ टीका लगाउन भने सरकारले कुनै प्रतिबन्ध नलगाउने ती अधिकारीले जानकारी दिए । टीका लगाउँदा घरभित्र बसेर लगाउनुपर्नेछ ।

कति जिल्लामा स्थानीय प्रशासन र गाउँपालिका तथा नगरपालिकाले दशैँलगत्तै कोरोना फैलिनसक्ने भन्दै केन्द्र सरकारको नीतिविपरीत लकडाउन र निषेधाज्ञा लगाइसकेका छन् । तिहारको बेलामा विभिन्न संघसंस्था र व्यक्तिहरूले मिलेर देउसी भैलो खेल्ने गरेका थिए । यस वर्षको चाडमा सबै किसिमका सामूहिक जमघट बन्द गरिएको कारण देउसी भैलो पनि बन्द हुने भएको हो । तिहारमा प्रतिबन्ध लगाएपछि सरकारले छठमा सामूहिक भेला हुन रोक्ने भएको छ । छठ विशेषगरी मध्यतराई र काठमाडौं उपत्यकामा मनाइने गरिन्छ । छठ तिहारभन्दा बढी सामूहिक भेला भएर मनाइने चाड हो ।

यस्तै, तिहारमा खेलिने देउसी भैलो खेल्न कर्णालीमा पूर्ण रुपमा निषेध गरिने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टीका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो । बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने समेत निर्णय गरेको बताइएको छ ।

कोरोना रोगको सङ्क्रमण दिनप्रतिदिन समुदायमा फैलिसकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै बैठकले प्रचारप्रसारमा तीव्रता दिन सरोकारवाला निकायलाई तदारुकताका साथ खटाउने व्यवस्था मिलाउने समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । बदलिँदो मौसम, नजिकिएको तिहार, छठ, प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी प्रतिबन्ध लगाइने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया