Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतातोपानी तथा केरुङ नाका पूर्णरूपमा सञ्चालनको लागि पहल गर्न आग्रह

तातोपानी तथा केरुङ नाका पूर्णरूपमा सञ्चालनको लागि पहल गर्न आग्रह


काठमाडौं ।
नेपाल चाइना चेम्बर अफ कमर्सले तातोपानी तथा केरुङ नाका पूर्णरूपमा सञ्चालनको लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ । नेपाल र चीनबीचको दुई मात्र व्यापारिक तातोपानी तथा केरुङ नाका लामो समयदेखि आंशिकरूपमा मात्रै सञ्चालन हुने र रोकिने अवस्थाबाट गुज्रिरहेको छ । उक्त नाका हालसम्म पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । व्यापारीहरूले विशेषगरी जाडो, गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरू ८–१० महिनादेखि नाकामा अलपत्र अवस्थामा रहेको नेपाल चाइना चेम्बर अफ कमर्सका महासचिव विनोद पौडेलले जानकारी दिए । उनका अनुसार कतिपय खाद्य सामग्री तथा फलफूलहरू विग्रिएको र म्याद सकिने अवस्थामा पुगीसकेको छ ।

नाका सुचारु नभएमा कारण व्यापारी व्यवसायीहरू टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भई आन्दोलित हुने अवस्थामा पुगेको पौडेलले बताए । नेपाल चाइना चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ बजारबाट माल सामानहरू समयमा नेपाल ल्याई बिक्री वितरण गर्न नसकेमा व्यवसाय नै धारासायी भई पलायन हुनुपर्ने अवस्था हुने जनाएको छ ।

लामो समयदेखि हजारौँ ट्रक मालसामानहरू नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरूले दुई देशबीच सडकमार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेका छन् । दुई देशबीच विद्यमान सदियौं पुरानो सुमधुर व्यापारिक सम्बन्धप्रति नकारात्मक टिप्पणी तथा आन्दोलित हुने वातावरण कदापि आउन दिन नहुने नेपाल चाइना चेम्बरको भनाइ छ ।

दशैंअगाडि नै नाका पूर्णरूपमा सुचारु हुने भनिए पनि चीनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरको छ । भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए पनि चीनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना आउने गरेको छैन । यस अन्यौलको अवस्थालाई निरन्तरता दिनु दुई देशको हितमा कदापि नहुने र मुलुकको राजस्व संकलनमा समेत कमी हुनेहुँदा यस समस्याको समाधानका लागि विशेष पहल गरी धेरैभन्दा धेरै गाडीहरू नेपाल ल्याउने वातावरण बनाउनु जरुरी रहेको नेपाल चाइना चेम्बरले बताएको छ । यसका लागि द्विपक्षीय वार्तामार्फत समस्याको स्थायी समाधान गर्न नेपाल चाइना चेम्बरले सरकारसँग आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया