Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न नेपाल टेलिकमलाई आग्रह

उच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न नेपाल टेलिकमलाई आग्रह


काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न आग्रह गरेका छन् । टेलिकमद्वारा विहीबार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले टेलिकमको एक सय तीन वर्षे सेवाको इतिहास जोगाउन आग्रह गरे ।

दूरसञ्चार सेवालाई भरपर्दाे बनाउनुपर्ने प्रमुख आवश्यकता रहेको भन्दै उनले दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिन सक्यौँ कि सकेनौँ त्यसको लेखाजोखा गर्न आग्रह गरे । टेलिकमलाई आफ्नो पहिचान जोगाएर आवश्यक रणनीतिका साथ अघि बढ्न सुझाव दिँदै उनले मन्त्रालयले सधैँ सहयोग गर्ने बताए । ‘सेवाग्राही कति छन्, तर्जुमा गरेका कार्यक्रम लागू भए कि भएनन्, भएनन् भने किन गरिएन भन्ने कुराको समीक्षा जरुरी रहेको छ’, उनले भने, ‘फोरजी सेवाका बारेमा आलोचना सुनिँदै आएको छ, हामी कहाँ अड्किरहेका छौँ, समस्या के हो, यकिन गर्नुहोस्, कतै दुरूपयोग भएको रहेछ भने त्यसको पहिचान पनि गर्नुहोस् ।’ सूचना महामार्ग बनाउने योजनाका विषयमा नयाँ रणनीतिका साथ अघि बढ्न र विगतमा गरिएको प्रतिबद्धता पूरा गर्न उनले आग्रह गरे ।

सबै पालिका र विद्यालयमा ब्रोडब्याण्ड पु¥याउने, फोरजी सेवा विस्तार गर्ने र भू–उपग्रह स्थापनाका लागि कार्य अघि बढाउने विषय कार्यसम्पादन सम्झौतामा उल्लेख भएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसको अक्षरशः कार्यान्वयनमा लाग्न पनि निर्देशन दिए । सबै पालिकामा इन्टरनेट पु¥याउन सकियो भने मात्रै पनि ठूलो उपलब्धि हुने उनको भनाइ थियो । उनले टेलिकमको समग्र विकासका लागि रूपान्तरित कार्ययोजना बनाउन आग्रह गरे ।

साथै उनले सरकारी संस्थामा काम गरेर निजी कम्पनीमा योगदान गर्ने कर्मचारीको पहिचान गर्न पनि निर्देशन दिए । ‘त्यस्ता व्यक्तिहरूलाई प्राइभेट कम्पनीले किनेकाले सरकारी कम्पनी कमजोर भएका छन्, मोबाइल ट्रयाकिङ प्रणाली प्रयोग गरेरै भए पनि खोजी गर्नुहोस्, यो मेरो कडा निर्देशन छ’, उनले भने, ‘पछि कुनै तरिकाले फेला प-यो भने व्यवस्थापनलाई नै स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउन सक्छ ।’ उनले कर्मचारी संघसंगठनलाई पनि संस्थाको हितमा काम गरे आवश्यक सहकार्य गर्न मन्त्रालय तयार रहेको जानकारी दिए ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाली जनतालाई गुणस्तर सेवा दिनु नै संस्थाको प्रमुख उद्देश्य रहेको बताए । टेलिकम सञ्चालक समितिका अध्यक्ष बस्यालले भने, ‘सेवाप्रति नागरिकले मूल्यांकन गरिरहेका हुन्छन्, हरेक गाउँमा पुगेको सेवाले काम गरिरहेको छ कि छैन भनेर अध्ययन गर्नु जरुरी छ ।’ उनले अझै पनि टेलिकम सेवाको माग बढ्दो रहेको जानकारी दिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मन्त्री गुरुङसामु कार्यालयले हालसम्म गरेका गतिविधि र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । कार्यक्रmमा कर्मचारीले विनियमावली नआउँदा वृत्तिविकासलगायत गतिविधि रोकिएकाले सहजीकरण गर्न मन्त्री गुरुङलाई अनुरोध गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया