Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं ।
भारत सरकारले नेपाली सेनालाई दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।
नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित कार्यक्रममा ती स्वास्थ्य समग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

नेपाल–भारत सुरक्षा सहयोग आदान–प्रदानसम्बन्धी तेह्रौँ बैठकमा भएको सहमतिअनुरूप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स, चार आईसीयू भेन्टिलेटर, एक्स–रे मसिन, कम्युटर रेडियोग्राफ्री प्रणाली, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन र प्रयोगशालासम्बन्धी उपकरण रहेको बताइएको छ ।

यसैगरी नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोग स्वरूप उपलब्ध गराएको छ । उक्त मास्क प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई हस्तान्तरण गरेका हुन् । प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहार स्वरूप शान्तिका प्रतिक गौतमबुद्धको प्रतिमा समेत प्रदान गरे ।

यसका साथै स्थलसेनाध्यक्ष नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गर्नुुका साथै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोपेका थिए । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटमा दुवै सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ । उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरूप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनापति नरवणेलाई विहीबार नै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छिन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया