Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा संक्रमितमध्ये झण्डै साढे १८ प्रतिशतमा अझै कोरोना

नेपालमा संक्रमितमध्ये झण्डै साढे १८ प्रतिशतमा अझै कोरोना


काठमाडौं ।
नेपालमा कोरोनाबाट संक्रमितमध्ये झण्डै साढे १८ प्रतिशतमा अझै कोरोना पोजेटिभ देखिएको छ । कोरोनाबाट निको हुनेको प्रतिशत बढे पनि पछिल्लो समयमा ढिला निको हुनथालेको कारण अझै १८ दशमलव ४ प्रतिशत कोरोनाका सक्रिय संक्रमित विभिन्न ठाउँमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १५ लाख २७ हजार सात सय ६६ जनामा कोरोना परीक्षण गरिएकामा एक लाख ९१ हजार छ सय ३६ जनामा कोरोना देखिएको छ । ती पोजेटिभमध्ये अझै ३५ हजार चार सय ३५ जना व्यक्तिहरु कोरोनासँगको लडाइँमा छन् ।

मन्त्रालयका अनुसार प्रतिदश लाखमा ५२ हजार तीन सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । नेपालमा पछिल्लो समयमा परीक्षण गरिएकामध्ये साढे १२ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पोजेटिभ देखिएकामध्ये मृत्यु हुनेको दर शून्य दशमलव छ प्रतिशत रहेको छ । कोरोनामुक्त हुनेको दर भने ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् ।

बितेको २४ घण्टामा १० हजार ४ सय २३ नमूना परीक्षणमा एक हजार ६ सय ७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७ सय ५३ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ८७ पुरुष र ६ सय २५ महिलासहित एक हजार ५ सय १२ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४ सय ९४, प्रदेश २ मा ७७, वाग्मती एक हजार ६ सय ९९, गण्डकीमा १ सय ३७, लुम्बिनीमा २ सय १८, कर्णालीमा २५ र सुदूरपश्चिममा १ सय ३ संक्रमित थपिएका छन् । ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित छन् । तीमध्ये ३ सय ६५ को आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित छन् । शनिबार मात्रै काठमाडौं उपत्यकामा एक हजार पाँच सय १२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये छ सय २५ जना महिला र आठ सय ८७ जना पुरुष छन् । शनिबारसम्म काठमाडौंमा १५ हजार चार सय ५५ जना कोरोनाका संक्रिय संक्रमित फेला परेका छन् भने दुई सय ७० जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया