Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाँगेल विमानस्थल मंसिरदेखि सञ्चालनमा आउने, महाकुलुङ विमानस्थलका लागि अर्को वर्ष बजेट

काँगेल विमानस्थल मंसिरदेखि सञ्चालनमा आउने, महाकुलुङ विमानस्थलका लागि अर्को वर्ष बजेट


सोलुखुम्बु ।
सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल मंसिरदेखि सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंसिर दोस्रो सातादेखि काँगेलडाँडा विमानस्थल पुनः सुचारु गर्ने बताए । विमानस्थलको स्थलगत निरीक्षणमा सोलुखुम्बु आएका मन्त्री भट्टराईले काठमाडौँ फर्केपछि सम्बन्धित पक्षसँग छलफल गरी इच्छुक एयरलायन्सलाई उडान अनुमति दिने जानकारी दिए । करिब पाँच वर्षदेखि पूर्णरूपमा बन्द रहेको तथा गौचरणमा परिणत भएको विमानस्थलमा अब हप्ताको एक दिन उडान थाल्ने र यात्रुको चापअनुसार बढाइने मन्त्री भट्टराईले बताए ।

विमानस्थल सञ्चालनको लागि स्थानीय तहसँग समन्वय गरेर सञ्चालनको मापदण्ड तयार गरिने समेत उनको भनाइ छ । सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले विमानस्थल दिगोरूपमा सञ्चालनका लागि उपयुक्त मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिए । स्थानीय नागरिकको मागअनुसार विमानस्थलको स्तरोन्नत्ति गर्ने र सेवालाई निरन्तरता दिने राईको भनाइ छ । यस्तै प्रदेशसभा सदस्य एवं प्रदेश १ नेकपा संसदीय दल प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भए पनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ–काँगेल र विराटनगर–काँगेल नै उडान सञ्चालनमा ल्याउने कोसिस गर्नुपर्ने भन्दै यदि तीमध्ये पनि जुन उपयुक्त हुन्छ सोहीअनुसार काम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । यस्तै प्रदेशका अर्का सदस्य उत्तम बस्नेतले गाउँ–गाउँमा सडक पुगेसँगै काँगेलडाँडा विमानस्थल सञ्चालनको बलियो आधार बन्दै गएको बताए । राज्यको करोडौँ लगानीमा निर्माण भएको विमानस्थल निरन्तर सञ्चालन गर्न सकेको खण्डमा ग्रामीण क्षेत्रका नागरिकले नै बढीभन्दा बढी लाभ लिन सक्ने बस्नेतको भनाइ छ । २०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ सालसम्म नेपाल एयरलायन्स र तारा एयर एयरलायन्सले उडान भर्दै आएको विमानस्थलमा उडान बन्द भएपछि सुचारु गर्न जिल्लाका जनप्रतिनिधिहरू निरन्तर लागिपरेको थिए ।

यसैगरी मन्त्री भट्टराईले महाकुलुङ विमानस्थलको डीपीआर चाँडै निर्माण हुने बताएका छन् । काँगेलडाँडा विमानस्थलको स्थलगत अध्ययनपछि महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा महाकुलुङ विमानस्थललाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोलुखुम्बु देशकै सबैभन्दा बढी विमानस्थल भएको जिल्ला हो । यहाँ चारवटा विमानस्थल रहेका छन् । जसमध्ये दुईवटा विमानस्थल सञ्चालनमा छन् भने दुई विमानस्थलमा अहिले उडान हुन सकेको छैन । महाकुलुङ विमानस्थल निर्माण भएपछि जिल्लामा विमानस्थलको संख्या पाँच पुग्नेछ । मन्त्री भट्टराईले महाकुलुङ विमानस्थललाई तेञ्जिङ हिलारी विमानस्थलको विकल्पको रूपमा लिन सकिने पनि बताए । पर्यटकको चाप बढ्दै जाँदा तेञ्जिङ हिलारी विमानस्थलले थेग्न नसक्ने हुँदा महाकुलुङमा निर्माण हुँने विमानस्थल महत्वपूर्ण हुने मन्त्री भट्टराईको भनाइ छ । विमानस्थल सञ्चालनपछि मेरापिक, मुन्दुम ट्रेल पदमार्गमा आउने पर्यटकलाई समेत सहज हुने उनले बताए । यस्तै महाकुलुङ गाउँपालिकाले सञ्चालन गरेको फुट ट्रेललाई समय सान्दर्भिक भएको भन्दै सामुदायिक एकताको मन्त्री भट्टराईले प्रसंशा समेत गरेका छन ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले महाकुलुङ विमानस्थल त्यस क्षेत्रका नागरिकको समेत जीवनस्तरसँग जोडिएको हुनाले द्रुतगतिमा निर्माण कार्य अगाडि बढाउन आग्रह गरे । अध्यक्ष किराँतीले मन्त्री भट्टराईलाई महाकुलुङ ताल, कुलुङ सांस्कृतिक संग्रहालय, मेरापिक रुटमा पर्ने बातेल्मा र लुक्तुम्मा, रक क्लाइमिङ सेन्टर, केबलकारको सम्भाव्यता अध्ययनका लागि, महाकुलुङ पदमार्गलगायतका ठूला विकासका आयोजनामा बजेट व्यवस्थापनका लागि माग पत्र समेत बुझाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया