Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीविरुद्धको प्रस्तावमा मन्त्रीहरूले नै हस्ताक्षर गरेको प्रचण्डका भाइको ‘ब्रिफिङ’

प्रधानमन्त्री ओलीविरुद्धको प्रस्तावमा मन्त्रीहरूले नै हस्ताक्षर गरेको प्रचण्डका भाइको ‘ब्रिफिङ’


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभाको किमाथांकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने घोषणा गरे । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालले गठबन्धन बनाएर ओलीलाई सके दुवै पदबाट नसके एउटा पद अर्थात् अध्यक्षबाट हटाउने योजना बनाइरहेका बेला प्रधानमन्त्रीले आफूले दुवै पद नछाड्ने भनेर हटाउन खोज्नेहरूलाई ठाडै चुनौती दिए । उनले घुमाउरो तरिकाले भने, ‘म हट्दिन, सक्छौ भने हटाऊ ।’

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष रहरले नभई जनताले मत दिएर बनेको भन्दै पदबाट ‘हट्दिनँ, सक्छौ भने हटाऊ’ भनेर घुमाउरो तरिकाले पार्टीभित्रका आफूविरोधीहरूलाई चुनौती दिनाले के स्पष्ट संकेत गरेको छ भने पार्टीभित्रको एकले अर्कोलाई सिध्याउने षड्यन्त्रपूर्ण कार्यको मुकाबिला गर्ने क्षमता केपी ओलीमा मात्र छ । अरुहरूको योजना हावा हालिएको बेलुनजस्तो मात्र हो । त्यो बेलुनले गति लिनासाथ हावाले नै फुटाइदिन्छ ।

प्रधानमन्त्रीले आफूविरुद्धको षड्यन्त्रलाई चकनाचुर पार्ने बताइरहेको बेला प्रचण्ड नजिकका नारायण दाहालले भने प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव तयार भएको र त्यसमा पूर्वएमालेको तर्फबाट मन्त्री बनेका योगेश भट्टराईलगायतका केही, पूर्वमाओवादीका तर्फबाट मन्त्री बनेकाहरू रामबहादुर थापा बादल र लेखराज भट्टबाहेक कोहीले सहमति गरेका र कोहीले हस्ताक्षर नै गरेको दाबी गरेका छन् । अहिले दाहालले सांसदहरूलाई बेलैमा कित्ताकाट गर्न आग्रह गर्न थालेका छन् । मन्त्रीहरूले नै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको कारण ओली सरकारको आयु धेरै नभएको दाबी नारायण दाहालले पार्टीका सांसद र विभिन्न तहका नेताहरूलाई प्रचण्डको तर्फबाट भन्दै ‘ब्रिफिङ’ गरिरहेका छन् ।

प्रचण्डका साखै भाइ नभए पनि नारायण दाहालले आफू साखै भाइ भएको बताउँदै व्यक्तिगत लाभ लिँदै आएका छन् । उनले पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्ध आफ्नो क्षमता र हैसियतले भ्याएसम्म विरोधीहरूलाई एकजुट बनाउँदै लगेका छन् । स्रोतका अनुसार नारायण दाहालले क्रसरलगायतका विभिन्न व्यवसाय गर्नेसँग पैसा उठाउने गरेका छन् । त्यसको जानकारी प्रधानमन्त्री ओलीकहाँ पुगेको छ । गृहमन्त्री बादल पनि नारायण दाहालको उक्त कदमको विपक्षमा छन् भने व्यवसायीलाई धम्क्याएको विषयमा उद्योगमन्त्री लेखराज भट्टले पनि जानकारी पाएपछि दाहाल अहिले वर्तमान सरकारविरुद्ध प्रचण्डभन्दा पनि एक कदम अगाडि आएर विरोधमा उत्रिएका छन् ।

स्रोतका अनुसार आफ्नो पक्षको सभामुख भएको, पार्टीको बहुमत आफ्नो भएको कारण केही दिनभित्रमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएमा अविश्वासको प्रस्ताव ल्याइने जानकारी दाहालले केही सांसदहरूलाई बिहीबार पनि गराएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आर्थिक स्रोतहरूको केन्द्रीकरण गरेपछि अहिले प्रचण्ड पक्ष विचारभन्दा पनि पैसाको कारण धेरै तड्पिनपुगेको छ ।

विचारको लागिभन्दा पनि भागबण्डाका लागि नेकपाभित्र विवाद तीव्र बनिरहेको छ । विवाद तीव्र बनिरहेको बेला सांसदहरूलाई प्रभावमा पार्नका लागि मन्त्रीहरूले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरिसकेको र चाहेको बेला त्यो पनि आफूले देखाउने भन्दै सांसदहरूलाई फकाइरहेको स्रोतको दाबी छ । नारायण दाहालले सांसद र नेताहरूलाई गरेको ब्रिफिङको बारेमा प्रधानमन्त्रीले पनि थाहा पाइसकेको एक नेताले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया