Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो चौमासिकमा उद्योगमा लगानी घट्यो

पहिलो चौमासिकमा उद्योगमा लगानी घट्यो


काठमाडौं ।
मुलुकको उद्योग क्षेत्रमा गरिने लगानी रकममा कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७७/०७८) को पहिलो चौमासिकमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले नेपालको उद्योग क्षेत्रमा ६४ अर्ब दुई लाख रुपैयाँ लगानी प्रतिबद्धता गरेका छन् । उनीहरूले उक्त लगानी प्रतिबद्धता ७० वटा उद्योग स्थापना तथा चार हजार चार सय २३ जनालाई रोजगारी दिने उद्देश्यका साथ गरेका हुन् ।

विभागका अनुसार चालू आवको पहिलो चौमासिकमा आएको उक्त लगानी प्रतिबद्धता गत आव (२०७६/०७७) को सोही अवधिको तुलनामा सात अर्ब ७४ करोड २८ लाख रुपैयाँले कमी हो । गत आवको सोही समयमा लगानीकर्ताहरूले ७१ अर्ब ७४ करोड ३० लाख रुपैयाँ लगानी गरेको विभागले जनाएको छ । उनीहरूले उक्त प्रतिबद्धता एक सय १९ वटा उद्योग स्थापना तथा सात हजार चार सय ८१ जनालाई रोजगारी दिनको लागि गरेका थिए ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले कृषि तथा वन पैदावार, ऊर्जा, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योग स्थापनाका लागि प्रतिबद्धता जनाउँदै आएका छन् भने विदेशी लगानीकर्ताहरूले प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मार्फत नेपालमा लगानी भित्र्याउने गरेका छन् ।

चालू आवको पहिलो चौमासिकमा उनीहरूले सबैभन्दा बढी ऊर्जामा ५१ अर्ब २४ करोड ६५ लाख तथा त्यसपछि क्रमशः उत्पादनमा तीन अर्ब ९१ करोड २६ लाख, पर्यटनमा दुई अर्ब ९० करोड ३२ लाख, सेवामा दुई अर्ब ५८ करोड, कम कृषि तथा वन पैदावारजन्य उद्योगमा दुई अर्ब ३८ करोड ४१ लाख र सबैभन्दा कम सूचना तथा सञ्चार प्रविधिमा ६० करोड लगानी प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले उक्त लगानी प्रतिबद्धता क्रमशः ११ वटा ऊर्जाजन्य, १६ वटा उत्पादनमूलक, १३ वटा पर्यटनमूलक, १६ वटा सेवामूलक, १० वटा कृषि तथा वन पैदावरजन्य र चारवटा सूचना तथा प्रसारण प्रविधि गरी कुल ७० वटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापनासँगै उनीहरूले ती छ प्रकारका ७० वटा उद्योगमा चार हजार चार सय २३ जनालाई रोजगारी दिने समेत बताएका छन् ।

त्यसैगरी उद्योगीहरूले गत आवको सोही अवधिमा सबैभन्दा बढी ऊर्जामा ४७ अर्ब ७२ करोड १९ लाख, त्यसपछि क्रमशः उत्पादनमा १० अर्ब ६३ करोड २३ लाख, पर्यटनमा आठ अर्ब ८० करोड ६२ लाख, सेवामा तीन अर्ब २४ करोड १० लाख, सूचना तथा सञ्चार प्रविधिमा एक अर्ब एक करोड र सबैभन्दा कम कृषि तथा वन पैदावरमा ३३ करोड १४ लाख लगानी प्रतिबद्धता जनाएका थिए ।

उनीहरूले उक्त लगानी प्रतिबद्धता २० वटा ऊर्जाजन्य, २४ वटा उत्पादनमूलक, ४८ वटा पर्यटनमूलक, १८ वटा सेवामूलक, छ वटा सूचना तथा सञ्चार प्रविधि, तीनवटा कृषि तथा वन पैदावरजन्य गरी कुल ६० वटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापनासँगै उनीहरूले ती छ प्रकारका एक सय १९ वटा उद्योगमा सात हजार चार सय ८१ जनालाई रोजगारी दिने समेत बताएका थिए ।

विभागका अधिकारीका अनुसार कोभिड १९ महामारीका कारण उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता आउन नसकेको बताएका छन् । उनीहरूले परिस्थिति असहज भए पनि स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले नेपालको उद्योग क्षेत्रमा भने लगानी गर्ने चासो भने निरन्तर राखेको बताए । नेपालको उद्योग क्षेत्रमा स्वदेशी लगानीकर्ताका साथै भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण अफ्रिकालगायत मुलुकका लगानीकर्ताहरूमार्फत लगानी आउने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया