Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवेदकोट नगरपालिकाले कृषिमा चार करोड लगानी गर्ने

वेदकोट नगरपालिकाले कृषिमा चार करोड लगानी गर्ने


धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा चार करोड लगानी गर्ने भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष नगरपालिकाले कृषि क्षेत्रमा उल्लेख्य मात्रामा लगानी थप्न लागेको बताइएको छ । पछिल्लो समयमा विश्वभरमा फैलिरहेको कोरोना भाइरसको प्रभावबाट प्रभावित भएका नगरवासीलाई कृषिमा आत्मनिर्भर तथा व्यावसायिक गराउनका लागि नगरपालिकाले यसवर्ष ठूलो मात्रामा कृषिमा लगानी बढाउने भएको हो ।

नगरपालिकाले कृषिक्षेत्रमा उद्यमशीलताको विकासको लागि यूएनडीपी संस्थासँगको साझेदारीमा झण्डै दुई करोड र नगरपालिका क्षेत्रबाट गरेर झण्डै चार करोडबराबरको कृषिलक्षित कार्यक्रम ल्याएको छ । यसअघि जिल्लाको हकमै दुधमा आत्मनिर्भर बनेको नगरपालिकाले अबको योजना तरकारीमा आत्मनिर्भर हुने बनाएको छ ।

वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दका अनुसार नगरपालिकाले नगरका विभिन्न वडालाई विभिन्न पकेट क्षेत्रमा विभाजन गरेर कृषि क्षेत्रमा लगानी गर्न लागिएको छ । नगरपालिकाको वडा नम्वर १ र २ मा आलु खेती, ३ र ४ मा च्याउ खेती, ५ र ६ मा खुसार्नी खेती, ७ र ८ मा लसुन खेती र वडा नम्बर ९ र १० मा प्याज खेती सञ्चालन गर्नेगरी नगरपालिकाले कार्ययोजनासहित कार्यक्रमको लागि बजेट समेत व्यवस्थापन गरेको उनले बताए ।

नगरप्रमुख चन्दले तरकारी खेतीका कार्यक्रमसँगै अन्य थुप्रै कृषि केन्द्रित कार्यक्रम नगरपालिकाले ल्याएको र ती सबैजसो युवालक्षित एवं बेरोजगार लक्षित रहेको जानकारी दिए । नगरपालिकाले यसवर्ष मात्रै कोभिडबाट प्रभावित भएका युवा तथा विभिन्न नागरिक लगाएर चार सय पाँच जनालाई कृषि क्षेत्रबाटै रोजगार बनाउने योजना बनाएको प्रमुख चन्दले बताए ।

यस्तै नगरपालिकाले १ वडा १ नर्सरी बनाउने योजना पनि बनाएको छ । नगरक्षेत्रको कृषि क्षेत्रमा पर्याप्त सम्भावना बोकेको क्षेत्रलाई नगरपालिकाले उजागर गर्ने प्रयास गरेको छ । कुखुरा पालन, भेसी पालन, बाख्रा पालन, केरा खेती, बेसार खेतीलगायतका विभिन्न कार्यक्रम नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न ल्याएको छ ।

‘सामान्यतया एक दुई कट्ठा क्षेत्रफलमा अनुदानको लागि तरकारी खेती गर्ने नागरिकका लागि नभएर व्यावसायिक बन्ने चाहना भएको नागरिकका लागि नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमसँगै विभिन्न अनुदान पनि दिएको छ’, प्रमुख चन्दले भने, ‘गहुँको बीउ वितरणमा पनि नगरपालिका ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ, यस वर्षका धेरैजसो कार्यक्रम लागू हुने चरणमा छन् भने केही लागू भैसकेको पनि अवस्था छ ।’ यस वर्षको नगरपालिकाको लगानीपछि कृषि क्षेत्रमा सोचेअनुरूप व्यवसायीककरण भयो भने आउँदो वर्षमा कृषि क्षेत्रमा लगानी अझै बढाउँदै जाने उनले बताए ।

नगरपवालिकाको योजना भनेको प्रत्येक बेरोजगार नागरिकलाई नगरभित्रैमै रोजगार दिनु भएकोले पनि कृषि क्षेत्र रोजगारको पहिलो क्षेत्र भएका कारणले पनि नगरापालिकाले कृषिमा लगानी गरेको समेत उनले बताए । नगरपालिकाले यस वर्ष सिँचाइ नभएका स्थानहरूमा सिँचाइका कार्यक्रमहरू पनि ल्याएको छ । सिँचाइ नभएको ठाउँहरूमा सिँचाइ पुगाउने उद्देश्य स्परुव नगरपालिकाले सिँचाइका कार्यक्रमका योजना बनाएको छ ।

यस्तै नगरपासिलकाले १ वडाको दुई ठाउँमा पोलिहाउस निर्माण गर्ने कार्यक्रलाई पनि अघि सारेको छ । यस्तै नगरपालिकाले ५ ओटा ठाउँमा छ सय लिटरको फ्रिज पनि वितरण गर्ने योजना बनाएको छ । योसँगै स्थानीय उत्पादनलाई बिक्रीवितरणमा प्राथमिकतामा राखेको छ । अहिलेको बजार क्षेत्रमा अरु उत्पादनभन्दा स्थानीय उत्पादनको धेरै ठूलो माग हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया