Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउडान नहुँदा चिठीपत्र कार्यालयमै थन्किए

उडान नहुँदा चिठीपत्र कार्यालयमै थन्किए


महेन्द्र शाही
सोलुखुम्बु ।
जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा महिनौँदेखिका चिठीपत्र थन्किएर बसेको छन् । नेपाल एयरलाइन्सको जहाजले फाप्लु विमानस्थलमा उडान नभर्दा भदौ २३ गतेदेखि सोलुखुम्बु र ओखलढुंगाको विभिन्न क्षेत्रबाट जिल्लामा आएका ४२ किलो चिठीपत्र कार्यालयमा नै थन्किएका हुन् । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख सिता दुवाडीका अनुसार सोलुखुम्बु जिल्लाको २२ किलो र ओखलढुंगा जिल्लाबाट आएको २० किलोसहित ४२ किलो चिठीपत्र कार्यालयमै थन्किएका छन् । चैत्र ७ गतेदेखि नेपाल एयरलाइन्सले फाप्लु विमानस्थलमा कुनै पनि उडान भरेको छैन ।

लकडाउनको समयमा कार्यालयले गाडीमार्फत पत्र पठाएको भए पनि अहिले त्यसको व्यवस्थापनमा समस्या भएको प्रमुख दुवाडीको भनाइ छ । बन्दाबन्दी खुलेसँगै निजी कम्पनीको विमानले फाप्लु विमानस्थलमा नियमित उडान भरिरहेको भए पनि नेपाल एयरलाइन्ससँग कर्मचारी नहुँदा उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । करारका कर्मचारीलाई बरखास्त गरेको नेपाल वायु सेवा निगमले पदपूर्ति गर्न नसक्दा नेपालको विभिन्न विमानस्थलमा अहिलेसम्म उडान हुन नसकेको बताइएको छ ।

सोलुखुम्बु, ओखलढुंगा र राजधानीसँग सम्बन्धित चिठीपत्र ढुवानीका लागि हुलाक विभाग र नेपाल वायु सेवा निगमसँग सम्झौता भए पनि नियमित उडान नहुँदा बारम्बार सेवा प्रभावित हुनेगरेको छ । विभागले अन्य माध्यमबाट चिठीपत्र ढुवानीको लागि रकम उपलब्ध नगराउने भएकाले थप समस्या भएको कार्यालयको भनाइ छ ।पछिल्लो समय कमै मात्रमा चिठीपत्र आदनप्रदान हुने भए पनि सोलुखुम्बु जिल्लामा यसको सेवा सहज तथा छिटो पत्र पाउनबाट नागरिक वञ्चित भएका छन् । ओखलढुंगा जिल्लासमेत फाप्लुमा हुने नेपाल वायु सेवा निगमको उडानमा भर पर्दा समस्या हुनेगरेको छ ।

यता खोटाङ जिल्लामा भने असोज १२ गतेदेखिका ११ वटा चिठीपत्र कार्यालयमा नै रहेको हुलाक अधिकृत सोभा पोखरेलले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारीसहित उच्च ओहोदाका व्यक्तिमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द हुँदा चिठीपत्र रोकिएको उनको भनाइ छ  । खोटाङ जिल्लाबाट उदयपुरसम्म कर्मचारीले पु-याउने र उदयपुरबाट गाडीमार्फत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । तर सोलुखुम्बुमा राजधानीसँग सिधा सवारी सञ्चालन भएको एक दशक भए पनि हुलाक विभागले विमानको विकल्प नखोज्दा समस्या भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया