Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतको पहल असफल

उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतको पहल असफल


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको नजिकिँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने प्रयास असफल भएको छ । महासंघको विधानअनुसार स्वतः वरिष्ठ उपाध्यक्ष अध्यक्ष चयन हुने भएपछि वरिष्ठ उपाध्यक्षको ‘हट सिट’मा सर्वसम्मत चयन गर्न महासंघकी वर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष (वरिष्ठ उपाध्यक्ष) शेखर गोल्छाले गरेको प्रयास असफल भएको हो ।

व्यवसायीको हकहितमा आवाज उठाउने र समस्या समाधानकोा पहल गर्ने एक मात्र ठूलो संगठनको चुनाव यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदै छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दर्ता गराइसकेका छन् भने उनीहरू चुनावी प्रचारमा व्यस्त छन् । केही दिनयता जिल्ला नगरस्थित व्यवसायीमाझ दुवै उम्मेदवारको ‘लबिङ’ बढिरहेको छ ।

यसका बाबजुद महासंघकी हालकी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्वअध्यक्षहरूले वरिष्ठ उपाध्यक्ष सर्वसम्मत चयन गर्ने दाबी गर्दै आएका थिए । तर अधिकांश जिल्ला, नगर सदस्यहरू भने निर्वाचनमै जानुपर्ने पक्षमा छन् । जिल्ला नगर उपाध्यक्षमा प्रधान प्यानलका दिनेश श्रेष्ठले वरिष्ठ उपाध्यक्ष सर्वसम्मत हुँदै नहुने ठोकुवा गरे ।
‘सर्वसम्मत हुँदै हुँदैन, जसले जति भने पनि निर्वाचन हुन्छ, बाहिर सर्वसम्मत हुन्छ भन्ने अर्को कुरा होला तर निर्वाचन हुन्छ’, उनले आर्थिक दैनिकसँग भने, ‘दुवै पक्षका जिल्लाका साथीहरूले यस निर्वाचनबाट सही नेतृत्व आओस् भन्ने चाहना व्यक्त गरेका छन् ।’ उनीहरू निर्वाचनमा जान तयार देखिँदा प्रतिस्पर्धीहरू पनि निर्वाचनमा जान तयार देखिएका छन् । आ–आफ्नो पक्षमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नेमा दुवै उम्मेदवार विश्वस्त रहेको दाबी गर्छन् ।

श्रेष्ठले यसअघि विभिन्न समयमा महासंघमा अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष चयनको क्रममा आलोपालो प्रणाली अपनाएको बताउँदै त्यो अवस्था नरहेको कारण समेत निर्वाचनमा जान सबै तयार रहनुपर्ने बताए । ‘०६२ र त्यसअघि अध्यक्ष तथा उपाध्यक्ष छनौटको क्रममा सहमति भएको थियो तर त्यो अवस्था अहिले छैन’, उनले भने, ‘कमजोर पक्षले सहमति गर्ने भन्दै विभिन्न सदस्यहरूले भन्दै आएका छन्, त्यसैले गर्दा सहमति गर्ने पक्ष कमजोर भनेको अवस्थामा मिलेर अघि बढ्नै कठिन छ ।’

वरिष्ठ उपाध्यक्ष पदका लागि यो पटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक रहेको बताउँदै उनले निर्वाचनले जुन परिणाम दिन्छ त्यो मान्न सबै साथीहरू तयार रहनुपर्ने बताए । यस्तै जिल्ला नगर उपाध्यक्षमा ढकाल प्यानलका गुणनिधि तिवारीले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयनको सम्भावना नरहेको बताए । ‘महासंघलाई जिम्मेवार नेतृत्व आवश्यक रहेको छ, त्यो भनेको चन्द्र ढकालको चयनबाट हुनसक्छ’, उनले भने, ‘हिजो महासंघमा रहेर खेलेको भूमिकादेखि व्यावसायिक सफलताको कारण ढकाल वरिष्ठ उपाध्यक्षका दाबेदा हुन् ।’

महासंघको नेतृत्वको लागि पदाधिकारीहरूले सर्वसम्मत रुपमा अध्यक्ष (राणाको कार्यकालअघिको समयमा), वरिष्ठ उपाध्यक्ष तथा अन्य पदाधिकारीहरू चयन गर्नुपर्ने बताउँदै आए पनि त्यसो हुनसकेको छैन । सोही कारण महासंघलाई सहज रुपमा नेतृत्व दिनेभन्दा पनि महासंघको नेतृत्व कसले गर्ने भन्ने विषयमा गुटगत राजनीति हुने गरेको आरोप लाग्ने गरेको छ । महासंघ तथा यसको नेतृत्वकर्तामाथि व्यवसायीहरूको समस्या समाधान गर्न नसकेको, सरकार र निजी क्षेत्र मिलेर उद्योग व्यवसाय सञ्चालनको लागि उपयुक्त वातावरण बनाउन नसकेको, नेतृत्व चयनपछि पनि आफ्नो गुटलाई सहयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । आगामी समयमा भने सो आरोपहरूबाट महासंघ मुक्त हुन आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

निर्वाचनका लागि प्रदेशतर्फको केन्द्रीय सदस्यको सात पदका लागि १६ जना, जिल्ला नगरतर्फको खुल्ला केन्द्रीय सदस्यको १८ पदका लागि ३८ जना, वस्तुगततर्फको १४ सदस्यका लागि २९ जना र एसोसिएटसतर्फको १९ पदका लागि ३३ जनाले प्रतिस्पर्धा गर्नेछन् । संस्थापक सदस्यतर्फ भने तीन जनाले आवदेन दिएका छन् । राष्ट्रियतर्फ ढकाल प्यानलबाट संदीप अग्रवाल र महासंघका केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट ढकाल प्यानलकै राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया