Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३१ अर्बको निर्यात दुई खर्ब ९२ अर्बको आयात

३१ अर्बको निर्यात दुई खर्ब ९२ अर्बको आयात


काठमाडौं ।
विश्वव्यापी कोरोना महामारीले अर्थतन्त्रमा गतिरोध हुुँदा यसको असर मुुलुकको वैदेशिक व्यापारमा पनि देखिएको छ । नेपाल राष्ट्र बैंकले बुुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो तीन महिनाको प्रतिवेदनअनुसार यस अवधिमा कुल वस्तुु निर्यातमा सामान्य वृद्धि देखिएको छ ।
सोअनुसार आयातमा कमी आएको छ । तर यहीबीचमा वैदेशिक रोजगारीबाट प्राप्त रकम रेमिट्यान्स भने गत आवको सोही अवधिको तुलनामा बढेको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ को तीन महिनामा कुल वस्तु निर्यात १४ दशमलव तीन प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा कुल वस्तु आयात भने १२ दशमलव सात प्रतिशतले घटेर दुुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव तीन प्रतिशतले घटेको थियो । निर्यात बढेको र आयात घटेकै आधारमा चालू आवको पहिलो तीन महिनामा कुल वस्तु व्यापारघाटा १५ दशमलव एक प्रतिशतले घटी दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९ दशमलव चार प्रतिशत र सात दशमलव चार प्रतिशतले निर्यात बढेको भए पनि विभिन्न अवरोधका कारण चीनतर्फको निर्यात भने ५३ दशमलव दुुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिनालगायतका वस्तुको निर्यात बढ्दा पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने कुल वस्तु आयात १० दशमलव तीन प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः छ दशमलव छ प्रतिशत, २६ दशमलव नौ प्रतिशत र १९ प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाइजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव एक प्रतिशत रहेको थियो । निर्यात–आयात मूल्य सूचकांक वार्षिक विन्दुगत आधारमा २०७७ असोज महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शून्य एक दशमलव एक प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक तीन दशमलव आठ प्रतिशतले घटेको छ । २०७६ असोज महिनामा चार दशमलव चार प्रतिशतले बढेको व्यापारको शर्त २०७७ असोज महिनामा पाँच दशमलव एक प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद सेवा आय १० अर्ब ५९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय छ अर्ब पाँच करोडले घाटामा रहेको थियो ।

१२ दशमलव छ प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा भित्रियो दुुई खर्ब ५८ अर्ब रुपैयाँ
कोरोना महामारीका बाबजुद नेपाल भित्रिने रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह वर्षगत तुलनामा बढेको छ । रोजगारीमा कटौती भए पनि चालू आवको पहिलो तीन महिनामा रेमिट्यान्स १२ दशमलव छ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार सार्वजनिक त्रैमासिक तथ्यांकअनुसार उक्त अवधिमा दुुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव एक प्रतिशतले घटेको थियो

। अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव छ प्रतिशतले बढेर दुुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह चार दशमलव सात प्रतिशतले घटेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६ दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन दशमलव सात प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८ दशमलव छ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव नौ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा खुद ट्रान्सफर १० दशमलव दुई प्रतिशतले बढे दुई खर्ब ८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलव आठ प्रतिशतले घटेकोे थियो ।

चालू खाता ३४ अर्ब ३६ करोड रुपैयाँले बचतमा : चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा चालू खाता ३४ अर्ब ३६ करोडले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ४७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर तीन दशमलव तीन प्रतिशतले कमी आई तीन अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६ दशमलव आठ प्रतिशतले कमी आई दुई अर्ब ९२ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब नौ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया