नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ । साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । महासंघको साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) ले केही असजिलो अवस्थामा पु-याए पनि अर्थतन्त्रमा खासै ठूलो समस्या नदेखिएको बताए । उनले अवस्था योभन्दा जटिल नभए सजिलै अगाडि बढ्नसक्ने जानकारी दिए ।
साथै उनले मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन निजी क्षेत्रको दरिलो साथ र सहयोग सरकारले खोजेको बताए । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघको मुलुुकको आर्थिक विकासमा निकै ठूलो योगदान रहेको चर्चा गर्दै उनले आफूले महासंघलाई सदैव उच्चस्थानमा राखेको बताए । वर्तमान कार्यकालसँग पनि सरकारले साझेदारीमा थुप्रै कार्य गरेको र आफूले सदैव एकैसाथ लगेको स्पष्ट पार्दै उनले कोभिडको अहिलेको चुनौतीपूर्ण घडीमा अब आउने नयाँ नेतृत्वसँग आगामी दिनमा सघन रुपमा आर्थिक सहकार्य गर्ने बताए । मुलुकभित्र उद्योग व्यवसायको विकासविना आर्थिक विकास, आर्थिक समृद्ध आउन नसक्ने भन्दै उनले त्यसको नेतृत्व निजी क्षेत्रलाई दिनुपर्ने आफ्नो बलियो मान्यता रहेको दाबी गरे ।
स्वदेशी तथा विदेशी लगानी मुलुकको लागि यतिबेला अपरिहार्य रहेको उनले बताए । त्यसका लागि सरकारले सहयोग गर्ने उनको भनाइ थियो । नेपालको बलियो शक्ति युथ पावर रहेको भन्दै उनले सरकार युवाहरूलाई सीपवान् बनाएर आर्थिक विकासमा लगाउन दत्तचित्त रहेको स्पष्ट पारे । साथै उनले उद्योगी तथा व्यवसायीहरूलाई आआफ्नो ठाउँमा रहेर आर्थिक व्यावसायिक विकासमा लाग्न आग्रह गरे । निजी क्षेत्रलाई स्थानीय सम्भाव्यतालाई उजागर गरी रोजगारी सृजना हुने कार्यमा लाग्न आग्रह गर्दै उनले समस्या परेको ठाउँमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यहरूले अबका दिनमा मुलुकुको अर्थतन्त्रमा निकै ठूला–ठूला चुनौती आउने देखाएको बताइन् । अहिलेको संकटमा मुलुकको अर्थतन्त्रलाई सही दिशातर्फ लैजान सरकार तथा निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो । साथै उनले कोभिड प्रभावित उद्योग व्यवसायका लागि सरकारले बजेट तथा मौद्रिक नीतिमार्फत ल्याएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आग्रह समेत गरिन् । मुलुकको समृद्धि जलस्रोत, कृषि, पर्यटन, ऊर्जाको समग्र विकासमार्फत मात्रै हासिल गर्न सकिने भन्दै उनले सरकार निजी क्षेत्र संयुक्त सहकार्यको लक्ष्य बनाएर अगाडि बढ्नुपर्ने बताइन् ।
उद्योग व्यवसायको प्रवर्द्धनमा दक्ष र सीपयुक्त जनशक्ति आजको आवश्यकता भएकाले महासंघले पनि उद्योग व्यवसायको आवश्यकताअनुसार सीपयुक्त जनशक्ति तयार गर्ने कार्यलाई सुरुवात गरिसकेकाले सरकारबाट जनशक्ति विकासमा विशेष जोड दिने नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । कोभिड संकटका कारण पछिल्लोपटक विश्व अर्थतन्त्र डिजिटल उन्मुख भएकाले यसबाट प्रविधि, सेवा र पर्यटन क्षेत्रले तुलनात्मक लाभ उठाउन सक्ने हुँदा सरकारका नीति तथा कार्यक्रमहरू सोहीअनुरुप आउनुपर्ने र सरकारका दैनिक कार्य सञ्चालन तथा आर्थिक कारोबार समेतलाई डिजिटल उन्मुख बनाउनेतर्फ विशेष नीति अख्तियार गर्नुपर्ने उनले बताइन् ।
गौरवका राष्ट्रिय योजनाहरू समयमा नसक्दा मुलुकले निकै ठूलो आर्थिक क्षति भोग्नुपरेको भन्दै उनले वर्षौँदेखि सुरु भएका तर समयमा नसकिएका त्यस्ता भौतिक पूर्वाधारका आयोजनाहरू फास्ट ट्र्याकबाट सम्पन्न गर्नको लागि पहल गर्न उनले सरकारलाई आग्रह गरिन् । यसले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन, थप लगानी आकर्षण गर्न र नयाँ परियोजनाको सुरुवात गर्न मार्गप्रशस्त गर्ने उनको भनाइ थियो । सरकारलाई जस्तोसुकै संकटमा पनि निजी क्षेत्रले बलियो साथ दिएको भन्दै उनले विगतमा जस्तै कोभिड महासंकटमा पनि महासंघले बलियो साथ दिएको दाबी गरिन् । महासंघले आफ्ना सदस्य सवै उद्योग धन्दालाई निर्बाध सञ्चालन गर्न लगाई अत्यावश्यक वस्तुको उत्पादन तथा आपूर्ति प्रणालीलाई बचाएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले महासंघको वर्तमान कार्यकालको गतिविधि समेटिएको पुस्तकको विमोचन समेत गरेका थिए । साथै प्रधानमन्त्री ओलीले महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मानपत्र र पूर्वअध्यक्षहरू महेशलाल प्रधान, विनोद कुमार चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान पशुपति मुरारकालाई प्रशंसापत्रबाट सम्मानित गरे ।
कार्यक्रममा महासंघको संघीय संरचनाअनुसार प्रादेशिक आर्थिक विकास र निजी क्षेत्रको भूमिका बढाउन उल्लेख्य भूमिका निर्वाह गर्ने महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरू नरेन्द्रकुमार खडका प्रदेश १, शिव शंकर साह हिरा प्रदेश २, दिनेश श्रेष्ठ वाग्मती प्रदेश, सञ्जीव बहादुर कोइराला गण्डकी प्रदेश, गुणनिधि तिवारी लुम्बिनी प्रदेश, पदम बहादुर साही कर्णाली प्रदेश र शंकर बोगटी सुदूरपश्चिम प्रदेशलाई कदरपत्रबाट सम्मानित गरिएको थियो । साथै महासंघसँग नजिकमा रहेर कार्य गर्ने नेपालका लागि भारत, चीन, फ्रान्सका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल कार्यालय, जीआइजेड नेपाल कार्यालय, ब्रिटिश काउन्सिललाई पनि कदरपत्रबाट सम्मान गरिएको छ ।
त्यसैगरी ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति भएको रत्ननगर उद्योग वाणिज्य संघ, मुगु जिल्लाको आर्थिक व्यावसायिक विकासमा उल्लेख्य योगदान गरेबापत मुगु उद्योग वाणिज्य संघलाई पनि कदरपत्र प्रदान गरिएको महासंघले जनाएको छ । त्यस्तै महासंघमा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरू उपनिर्देशक विष्णुराज ढकाल, अधिकृतहरू बाबुराम निरौला, विन्दु श्रेष्ठ, विभूति प्रधान, कार्यालय सहयोगीहरू पित्तनारायण श्रेष्ठ र राधीका नेपालीलाई नगदसहित कदरपत्र प्रदान गरिएको छ ।
वार्षिक साधारणसभामा महासंघका पूर्वअध्यक्षहरू, प्रदेशका अध्यक्षहरू, विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरू, दातृनिकायका प्रतिनिधिहरू, सञ्चारमाध्यमहरू र वार्षिक साधारणको उद्घाटनमा जुममार्फत महासंघका सबै कार्यकारिणी समिति सदस्यहरू, मुख्य प्रतिनिधिहरू, संघ÷संस्थाहरूको सहभागिता रहेको थियो ।
महासंघको वार्षिक साधारणसभाअन्तर्गतको दोस्रो दिन शुक्रबार जुममार्फत बन्दसत्र आयोजना हुनेछ । बन्द सत्रमा महासंघको आन्तरिक छलफल एवं प्रतिवेदन पेश हुनुको साथै महासंघका अध्यक्षबाट सम्बोधन हुनेछ भने बैठकमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूका उमेदवारहरूबाट नीतिगत मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरी शनिबार बिहानबाट महासंघको आगामी कार्यकालका लागि निर्वाचन हुने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया