Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतेस्रो वर्ष पनि निर्यातमा वृद्धि

तेस्रो वर्ष पनि निर्यातमा वृद्धि


काठमाडौं ।
आयातमा निर्भर मुलुकको व्यापार पछिल्ला वर्षहरुमा भने निर्यातमा पनि वृद्धि भएको पाइएको छ । विशेषगरी नेपालबाट कृषिजन्य सामग्री, हस्तकला, गलैँचालगायतका सामग्री निर्यात गर्ने गरेको छ भने यसका साथै सीमित मात्रामा कपडा, फुटवेयर, कार्पेटका सामग्री समेत निर्यात गर्ने गरेको छ । आयातको तुलनामा निर्यात सन्तोषजनक नरहे पनि पछिल्लो तीन आर्थिक वर्षलाई आँकलन गर्ने हो भने निर्यातमा वृद्धि भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, पुल्चोकका अनुसार तीन आर्थिक वर्ष अर्थात् आव ०७५/०७६ देखि ०७७/०७८ को पहिलो चौमासिकमा मुलुकबाट गरिने व्यापारमा निर्यातमा वृद्धि भएको छ । चालू आवको पहिलो चौमासिकमा ४० अर्ब २० करोड रुपैयाँबराबरको सामग्री निर्यात भएकोमा त्यसपछिका अघिल्ला वर्षहरु अर्थात् आव ०७६/०७७ र आव ०७५/०७६ को सोही अवधिमा क्रमशः अर्ब २८ करोड रुपैयाँ र २९ अर्ब २८ करोड रुपैयाँबराबरको सामग्री निर्यात भएको छ । यसरी यी तीन आवको पहिलो चौमासिकमा नेपालले भारतलगायत तेस्रो मुलुकसँग गर्ने व्यापारमा निर्यातमा वृद्धि भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकार तथा उद्योगीहरुको प्रयासको कारणले गर्दा निर्यातमा वृद्धि हुन पुगेको बताए । ‘सरकारले विभिन्न कार्यक्रम ल्याई उद्योग सञ्चालन तथा व्यापार विस्तारको लागि सहज वातावरण निर्माण गरिदिएको छ’, उनले भने, ‘उद्योगहरुले समेत क्षमता विस्तार गरेकै कारण उत्पादनमा वृद्धि हुनुपुग्दा निर्यात बढेको हो ।’ यस्तै उनले सरकारले निर्यातका लागि विभिन्न सामग्रीमा दिएको तुलनात्मक लाभका विषयले समेत निर्यातमा महत्वपूर्ण भूमिका खेलेको बताए । ‘स्थायी सरकार पनि मुलुकको व्यापारको सुधारको संकत हो’, उनले भने, ‘स्थायी सरकार भएकै कारण उद्योगधन्दा, व्यवसाय नियमित सञ्चालन हुन पुग्दा मुलुकको व्यापार सकारात्मक दिशामा लागेको हो ।’

तर, यति भनिरहँदा केन्द्रका कार्यकारी निर्देशक राणाले कोभिड १९ महामारीका कारण भने विश्व अर्थतन्त्रलाई असर परेको हुँदा त्यसबाट नेपाल अछूतो नरहेको बताए । ‘कोभिड महामारीले हाल व्यापार व्यवसायलाई असर गरेको छ तर महामारीको अन्त्यसँगै नेपाली उद्योगी तथा व्यवसायीलाई व्यापार तथा व्यवसायको लागि अवसर समेत हुनसक्छ’, उनले भने, ‘विश्वका कयौँ साना, घरेलु उद्योगहरु मझौला उद्योगमा परिणत भएका छन्, त्यसको फाइदा हामीले लिन सक्छौँ जसले गर्दा भोलिका दिनमा हस्तकला, गलैँचालगायतका सामग्रीको निर्यातमा वृद्धि हुनसक्छ ।’

पहिलो चौमासिकमा सबैभन्दा बढी निर्यात हुने सामग्रीमा भने भटमासको तेल रहेको छ भने त्यसपछि क्रमशः गलैँचा, यार्न (कटन, पोलिस्टर आदि), चिया, तयारी पोशाक, जुटजन्य सामग्री, अलैँचीलगायतका सामग्री रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो अवधिमा नेपाली व्यवसायीहरुले १० अर्ब २६ करोडको भटमासको तेल, दुई अर्ब ६० करोडको गलैँचा, दुई अर्ब ५४ करोडको यार्न, दुई अर्ब ३३ करोडको चिया, दुई अर्ब २१ करोडको तयारी पोशाक, दुई अर्ब १६ करोडको जुटजन्य सामग्री, दुई अर्ब तीन करोडको अलैँची भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेका छन् । यसका साथै नेपाली व्यवसायीहरुले चाउचाउ, जुस, उलन तथा पश्मिना, फलाम, फुटवेयर, गहनालगायतका सामग्री निर्यात गर्ने गरेको छ ।

यस्तै निर्यातको तुलनामा भने सोही समयमा आयातमा भने कमी आएको छ । चालू आवको पहिलो चौमासिकमा चार खर्ब दुई अर्ब ५० करोड रुपैयाँको आयात भएकोमा आव ०७६/०७७ र आव ०७५/०७६ मा क्रमशः आयात चार खर्ब ५० अर्ब तीन करोड रुपैयाँ र चार खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँको आयात भएको छ । निर्यातमा वृद्धि आयातमा कमी आउनुले मुलुकको व्यापार घाटालाई कम गर्न मद्दत पुग्ने केन्द्रका अधिकारीहरु बताउँछन् । उनीहरुले मुलुकको व्यापार भनेको आयातमा भर परेको हुँदा यसलाई कम गर्नका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया