Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा छवटा अस्पतालको शिलान्यास

दोलखामा छवटा अस्पतालको शिलान्यास


सुबास बस्नेत
दोलखा ।
दोलखामा छवटा अस्पतालको शिलान्यास गरिएको छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्रमशः ५, १० र १५ श्ययाका अस्पताल सबै स्थानीय तहमा निर्माण गर्ने प्रक्रिया अगाडि बढाएअनुसार दोलखाका छ स्थानीय तहले सोमबार अस्पतालको शिलान्यास गरेका हुन् । देशभरका तीन सय ९६ स्थानीय तह र सातवटै प्रदेशमा निर्माण हुन लागेको आधारभूत अस्पतालको एकसाथ शिलान्यास गर्ने कार्यक्रमअनुसार अस्पताल शिलान्यास गरिएको हो ।

जिल्लाको बैतेश्वर गाउँपालिकाले वडा नम्बर ५ मैनापोखरीमा निर्माण हुन लागेको १५ बेड क्षमताको अस्पतालको बैतेश्वर अस्पतालको शिल्यानास गरेको छ । अस्पतालको गाउँपालिकाका अध्यक्ष छवि लामाले शिलान्यास गरेका हुन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि मुलकभर सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मको आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुरुप भवन निर्माणका लागि संघीय सरकारको क्रमागत योजनाअन्तर्गत यसवर्ष एक करोड रकम विनियोजन गरेर अस्पताल निर्माण गर्न लागेको अध्यक्ष लामाले जानकारी दिए ।

अस्पताल निर्माणको लागि अपुग जग्गा स्थानीय जयबहादुर दाहाल, जगतबहादुर दाहाल, भिमबहादुर दाहाल, हरिबहादुर दाहाल, रामकाजी दाहाललगायतले पाँच रोपनी जग्गा दान गरेको गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले जानकारी दिए । यसैगरी जिल्लाको भीमेश्वर नगरपालिकाले चरीकोट अस्पताल परिसरमा १५ श्ययाको अस्पताल शिलान्यास गरेको छ । उक्त अस्पतालको लागत तीन करोड ३० लाख २० हजार रुपैयाँ रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।

त्यसैगरी तामाकोशी गाउँपालिकाको लुमा स्वास्थ्य चौकीमा १० श्ययाको अस्पताल शिलान्यास गरिएको छ । तामाकोशी गाउँपालिकामा निर्माण हुने अस्पतालको लागत ८५ लाख रुपैयाँ रहेको तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्काले जानकारी दिइन् । त्यस्तै जिल्लाको मेलुङ गाउँपालिकाको भेड्पु स्वास्थ्य चौकीमा पाँच श्ययाको अस्पताल र शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा ५ श्ययाको अस्पताल कुल ७०/७० लाख रुपैयाँ लागतमा निर्माण गर्न सोमबार नै शिलान्यास गरिएको मेलुङ गाउँपालिका प्रवक्ता हिरा थोकरले जानकारी दिए ।

यसैबीच दोलखाको गौरीशंकर गाउँपालिकाको सुरी प्राथमिक स्वास्थ्य केन्द्र रहेको इबिथानमै १५ श्ययाको अस्पताल शिलान्यास गरिएको छ । यद्यपि गौरीशंकर गाउँपालिकाको अस्पताल शिलान्यास भने विवादमा परेको छ । स्थानीयले भोर्लेमा अस्पताल निर्माण गर्न माग गरे पनि गाउँपालिकाले इबिथानमै अस्पतालको शिलान्यास गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया