Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिडले पारेको असर न्यूनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक

कोभिडले पारेको असर न्यूनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक


काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस (कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रसँगको सहकार्य अति आवश्यक रहेको बताएका छन् । कोभिडले विश्वमै असर पारेकाले नेपालमा पनि यसको ठूलो चुनौती रहेको भन्दै उनले यसलाई कम गर्न सरकार एक्लैले नसक्ने बताए ।

अर्थमन्त्री पौडेलले कोभिडले सिर्जना गरेका चुनौतीलाई कम गर्नका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषगरी अहिले लगानी वृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ निजी क्षेत्रसँग सहयात्रा गर्ने जानकारी दिए । उनले सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतीहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न सरकारले विशेष कार्यक्रम आवश्यक रहेको बताए । अबको दिनमा समुन्नत मुुलुक निर्माणका लागि निजी क्षेत्र रणनीति बनाएर काम गर्न लागेकाले यसको लागि सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाइ छ ।

महासंघले १० वर्षे रणनीतिपत्र तयार पारी आगामी एक सय दिनभित्र अन्तिम रुप दिई सार्वजनिक गर्ने बताउँदै अध्यक्ष गोल्छाले दिगो आर्थिक वृद्धि, रोजगारी, राजस्व वृद्धि गर्ने काम निजी क्षेत्रले गरेको बताए । समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको योगदान पु-याउन व्यसायी मैत्री वातावरण अपरिहार्य रहेको बताउँदै उनले प्रत्यक्ष अनुदान, राजस्व छुट, सावाँ ब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनको विषयमा सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए । दोहोरो दरको आर्थिक वृद्धि, वार्षिक चार लाख युवालाई रोजगारी सिर्जना, व्यापारघाटा न्यूनीकरण गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन निजी क्षेत्र आतुर रहेको उनको भनाइ छ ।

कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको उनले बताए । लगानी वृद्धि, रोजगारी विस्तार र व्यावसायिक वातावरण निर्माणका लागि अहिले रहेका एक दर्जन बढी नीति एवं कानुनहरुमा सुधार गर्नुपर्ने आवश्यकता रहेको र निर्यात बढाउन केही अन्तर्राष्ट्रिय लगानी सम्झौताको पुनरवलोकन एवं विस्तार गर्नुपर्ने देखिएको गोल्छाले जानकारी दिए ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेसमा लागत बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रम नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोभिडको प्रभाव पारेको अर्थतन्त्रलााई चलायमान बनाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया