Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब नाघ्यो


काठमाडौं ।
विदेशी मुद्राको सञ्चिति पछिल्लो समय निकै बढेको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो तीन महिनाको प्रतिवेदनअनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चार दशमलव नौ प्रतिशतले बढेर २०७७ असोज मसान्तमा १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ असोज मसान्तमा सात दशमलव आठ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा २०७७ असोज मसान्तमा पाँच दशमलव एक प्रतिशतले वृद्धि भई १२ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ असोज मसान्तमा तीन दशमलव चार प्रतिशतले वृद्धि भई एक खर्ब ८१ अर्ब ७१ करोड पुगेको छ । २०७७ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालू आर्थिक वर्र्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिना छ दिनको वस्तु आयात र १४ महिना एक दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९ प्रतिशत, एक सय १७ दशमलव तीन प्रतिशत र ३२ दशमलव नौ प्रतिशत रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७ दशमलव दुई प्रतिशत, एक सय पाँच दशमलव सात प्रतिशत र ३३ दशमलव एक प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा २०७६ असोज मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ५९.३५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ असोज मसान्तमा ३० दशमलव तीन प्रतिशतले घटेर अमेरिकी डलर ४१.३४ कायम रहेको छ । यस अवधिमा सुनको मूल्यमा भने उल्लेख्य बढोत्तरी भएको राष्ट्र बैंकले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७६ असोज मसान्तमा प्रतिऔँस सुनको मूल्य अमेरिकी डलर १४९२.६५ रहेकोमा २०७७ असोज मसान्तमा २७ दशमलव छ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९०५.०५ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तको तुलनामा २०७७ असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव आठ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ चार दशमलव एक प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १७ रुपैयाँ १२ पैसा पुगेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर एक सय २० रुपैयाँ ३७ पैसा रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया