Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुरानै लयमा फर्किंदै हवाइ क्षेत्र

पुरानै लयमा फर्किंदै हवाइ क्षेत्र


काठमाडौं ।
कोभिड १९ महामारीका कारण नेपालसँग भारतले उडान अनुमति मागेसँगै मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान पूर्ण रुपमा सञ्चालनमा आएको छ । भारतीय पक्षले उडानको लागि बिहीबार नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई जानकारी गराएसँगै मुलुकको आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा खुल्ला भएको हो । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले सरकारले कोभिड महामारीलाई ध्यानमा राखी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । सोही कारणले गर्दा भारत, चीन, बंगलादेशलगायत विभिन्न मुलुकले नेपालसँग उडान अनुमति माग्दै आएको थियो सोही क्रममा पछिल्लो समय भारतले उडान अनुमति माग गरेसँगै मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान पूर्ण रुपमा खुल्ला भएको बताए ।

भारतले उडान अनुमति माग गरेसँगै अबको सीमित दिनमा त्यसलाई प्राधिकरणले स्वीकृत गर्ने छ भने सोसँगै भारतका वायुसेवाहरूले नेपाल–भारत उडान गर्नेछन् । ‘मुलुकको हवाइ उडान पूर्ण रुपमा खुल्ला गर्नको लागि मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेकोले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा खुल्ला भयो भन्न सकिन्छ’, प्रवक्ता क्षेत्रीले आर्थिक दैनिकसँग भने, ‘अब नेपालमा उडान भर्न बाँकी रहेका मुलुक भनेका भारत र बंगलादेश रहेका थिए, उनीहरूले पनि उडान भर्ने तयारी गरेसँगै सामान्य अवस्थामा जस्तै सबैजसो एयरलाइन्सले नेपालमा उडान भर्नेछन् ।’

भारतीय मिडियाका अनुसार भारतले नेपालमा उडान भर्नका लागि आधिकारिक रुपमा प्राधिकरणलाई पत्र पठाउने तयारी गरेको जानकारी आएको प्राधिकरणले जनाएको छ । ‘हो, भारतीय मिडियाका अनुसार भने भारतले अर्थात् भारतीय वायुसेवाहरूले नेपालमा उडान भर्नका लागि अनुमति माग गर्ने विषय बाहिर आएको छ’, उनले भने, ‘सायद सो जानकारी हामीलाई आधिकारिक रुपमा छिटै आउने विषयमा अनौपचारिक ढंगबाट जानकारी प्राप्त भएको छ । सायद अबको एक/दुई दिनमा भारतले नेपालमा उडान भर्नेछ ।’

यस्तै त्रिभुवन विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्णले सामान्य अवस्था अर्थात् कोभिड १९ महामारीको कारण गरिएको बन्दाबन्दी अघिको जस्तै सबै मुलुकले नेपालमा उडान भर्ने तयारी गरेका छन् । ‘१४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएकोमा अबको केही दिनभित्र सोही लयमा मुलुकको नागरिक उड्डयन क्षेत्र फर्किनेछ’, उनले भने, ‘एयर इन्डियाले यसै साता नेपालमा उडान भर्ने अनौपचारिक जानकारी आएको छ सोसँगै दुवै मुलुकमा उडान सुचारु हुनेछ भने यसबाहेक चार्टर उडान भने भारत, बंगलादेशबाट समेत आउने गरेको छ ।’

यस्तै विमानस्थलका अनुसार हाल सबैभन्दा धेरै खाडी मुलुक (कतार, साउदी अरब, कुवेत) बाट हुने गरेको बताइएको छ । ‘चीन, भुटान, मलेसिया, जापान, दक्षिण कोरियालगायतका मुलुकबाट नेपालमा आंशिक उडान हुने गरेको छ’, उनले भने, ‘त्यसैले गर्दा सम्पूर्ण मुलुकबाट नेपालमा उडान भइरहेको छ भन्ने अवस्था छ नियमित रुपमा नभए पनि ।’ निर्देशक कर्णले अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक सयभन्दा बढी उडान हुने गरेको बताए । ‘आन्तरिकतर्फ दैनिक ८० देखि ९० र अन्तर्राष्ट्रियतर्फ दैनिक १० देखि १५ वटा एयरलाइन्सले नेपालमा उडान भर्ने गरेका छन्’, उनले भने, ‘त्यसैले गर्दा मुलुकको उड्डयन क्षेत्र पुरानै लयमा फर्कियो भन्न सक्छौँ ।’

कोभिड १९ का कारण सरकारले आन्तिरक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो भने पछिल्लो समय सरकारले दुवै उडान खुल्ला गर्दै आएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आग्रहअनुरुप मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले भारत र बंगलादेशलाई उडान खुल्ला गर्ने निर्णय गरेको थियो । ‘योसँगै अबको नेपालमा उडान भर्नका लागि कुनै पनि वायुसेवालाई समस्या छैन’, प्रवक्ता क्षेत्रीले भने, ‘मुलुकको नागरिक उड्डयन क्षेत्र पूर्ण रुपमा खुल्ला भएको अवस्थामा यात्रु नपाएर उडान नभर्नु अर्को समस्या हुन सक्छ जुन हाम्रोतर्फको समस्या होइन ।’

यस्तै निर्देशक कर्णले यसरी भारतले नेपालमा उडान भरेसँगै नेपालका एयरलाइन्सहरूले पनि भारतमा उडान भर्ने बताए । नेपालसहित भारत, चीन, भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमन, टर्कीका एयरलाइन्स अर्थात् ती मुलुकमा रहेका एयरलाइन्स कम्पनीहरूले नेपालमा उडान भर्ने गरेका थिए ।

चीनको एयर चाइना, क्याथे ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न एयरलाइन्स, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स र भारतको एयर इन्डिया, इन्डिगो (इन्टर ग्लोब एभिएसन लिमिटेड), विस्तारा (टाटा साई एयरलाइन्स लिमिटेड) र युएईको एयर अरेबिया, इत्तेहाद एयरवेज र फ्लाई दुबईले नेपालमा उडान भर्दै आएका थिए भने भुटानको रोयल भुटान एयरलाइन्स र भुटान एयर, ओमानको ओमान एयर, सालामा एयर र थाइल्याण्डको थाई एयरवेज इन्टरनेशनल, थाई लायन तथा बंगलादेशका विमान बंगलादेश, दक्षिण कोरियाको कोरियन एयर, कुवेतको जजिरा एयरवेज, सिंगापुरको सिल्क एयर, मलेसियाको मलेसिया एयरलाइन्स, मालिन्दो एयर, कतारको कतार एयरवेज र टर्कीको टर्किस एयरलाइन्सले नेपालमा उडान भर्दै आएका थिए ।

यसका साथै नेपालको मुख्य गरी नेपाल एयरलाइन्सले भारत, चीन, मलेसिया खाडीलगायतका मुलुकहरूमा उडान भर्ने गरेका छन् । कोभिड महामारीलाई ध्यानमा राखी सरकारले चैत ११ देखि मुलुकमा बन्दाबन्दी गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान (चार्टरबाहेक) बन्द गरेको थियो भने भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय तथा असोज १ गतेदेखि आन्तरिक उडान पूर्ण रुपमा खुल्ला गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया