Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभर करिब ११ हजार मात्र कोरोना सङ्क्रमित

देशभर करिब ११ हजार मात्र कोरोना सङ्क्रमित


काठमाडौं ।
हाल देशभरि करिब ११ हजार अर्थात् १० हजार ९ सय ९४ जना मात्र कोरोनाका सक्रिय सङ्क्रमित छन् । आइतबार मात्रै एक हजार पाँच सय जना कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप आठ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार ४ सय २३ पुगेको छ भने दुई लाख ३५ हजार ७ सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म एक हजार ६ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । प्रवक्ता डा. गौतमले कोरोनाले ल्याएको क्षति कम गर्न सरकारको प्रयास जारी रहेको बताउँदै खोपको आविष्कार भइसकेको र त्यसलाई नेपालमा पनि सर्वसुलभ उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए । मन्त्रालयका अनुसार विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या पाँच करोड, पाँच लाख ६२ हजार ९ सय ३८ छ ।

यसैबीच, प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा गरिएको ४ सय ६० जनाको पीसीआर परीक्षणमा ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १६, झापामा १८, सुनसरीमा पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा दुई/दुई, सङ्खुवासभा र भोजपुरमा एक/एक र प्रदेशबाहिरका पाँच जना छन् । प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आइतबार ५९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण सम्पन्न गरिसकेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली जिल्लाका ५५ वर्षीया र ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

आइतबारसम्म उक्त प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोनाको जटिल अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु हुने दर पनि बढेको छ । मन्त्रालयको तथ्याङ्कका अनुसार गएको चार दिनमा चार जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका १० जनाको सघन उपचारमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सक्रिय सङ्क्रमित बिरामी दुई हजार ३ सय २५ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लाका थप ६९ जना सङ्क्रमित भएको पुष्टि भएको छ । आइतबार थपिएका समेत गरी हालसम्म प्रदेशमा कुल सङ्क्रमित १२ हजार ३ सय ७८ पुगेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया