Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउखु किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय

हिसाब लिएर किसान र उद्योगी दुवै आएनन् : उद्योग मन्त्रालय


काठमाडौं ।
सरकारले उखु किसानहरुको बक्यौता रकम नतिर्ने उद्योगीलाई कारबाही गर्ने भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको चार मन्त्री सम्मिलित बैठकले उखु किसानको रकम नतिर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सहभागी थिए ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्र बहादुर बुढाले उखु किसानहरुको समस्या समाधान गर्न चार मन्त्रीहरुको बैठक बसेको बताए । बैठकले रकम नदिने उद्योगीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनले जानकारी दिए । ‘हामीले अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयका पक्राउ गर्नका लागि परिपत्र गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘त्यसैले गर्दा किसानहरुको समस्या समाधानतर्फ सरकारले तयारी गरेको छ ।’ आइतबारदेखि सर्लाहीबाट आएका किसानहरुले माइतीघरमा उखुको बक्यौता रकम नपाएको भन्दै प्रदर्शन गरेका थिए । सोसँगै उद्योग मन्त्रालयले समस्या समाधानको लागि पहल थालेको थियो ।

यसैबीच उद्योग मन्त्रालयले दुवै पक्ष अर्थात् उद्योगी तथा किसानहरुलाई रकमको बारेमा जानकारी गराउन आग्रह गरे पनि दुवै पक्षले वास्ता नगरेको बताएको छ । ‘हामीले उद्योगी र किसान दुवै पक्षलाई बक्यौता रकम दिन र लिनुपर्ने रकम बारेमा जानकारी गराउन आग्रह गरेका थियौँ’, उद्योग मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.नारायण प्रसाद रेग्मीले भने, ‘तर दुवै पक्षले जानकारी गराएका छैनन् ।’ यस्तै उनले किसानहरुको समस्या समाधानको लागि प्रदर्शनस्थलमा गएर वार्तामा आउनको लागि आग्रह गरेको बताए । ‘मैले उहाँहरुलाई वार्ता गरेर समस्या समाधान गर्नका लागि आउन आग्रह गरेको छु’, उनले भने, ‘मन्त्रालयले सहजीकरण गर्ने हो सोहीअनुरुप प्रदर्शन स्थलमा गई पत्र दिएको छु, सायद अब वार्ता होला ।’

उखु किसान संघर्ष समितिले भने रकम भुक्तानी हुने सुनिश्चित नभएसम्म वार्तामा नबस्ने आफ्नो पुरानो अडान पुनः दोहो-याएको छ । समितिका संरक्षक राकेश मिश्रले भुक्तानी लिएपछि मात्र वार्तामा बस्ने बताए । त्यसैले गर्दा मंगलबार उद्योग मन्त्रालयले बोलाएको बैठकमा आफूहरु उपस्थित नभएको उनको भनाइ छ । ‘यसअघि भएजस्तै सरकारले सम्झौता गरी कार्यान्वयन नगर्न सक्छ’, उनले भने, ‘लिन बाँकी रकम प्राप्त गरेर जाने उद्देश्यका साथ काठमाडौं आएका हौँ ।’

रकम नपाएसम्म प्रदर्शन गर्ने बताएका उनीहरुले सोमबारजस्तै मंगलबार पनि माइतीघरमा सरकारविरुद्ध प्लेकार्ड लिए प्रदर्शन गरेका थिए । उनीहरुले मंगलबार पनि विभिन्न नाराका प्लेकार्डसहित माइतीघरमा ०७६ पुस १८ गते भएको पाँच बुँदे सम्झौता लागू गर्न मागसहित प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा समिति सदस्य तथा पीडित किसानहरु सहभागी थिए ।

मन्त्रालयका अनुसार ७ वटा चिनी उद्योगले किसानहरुलाई ८९ करोड ११ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताएको छ भने त्यसमध्ये श्रीराम सुगर मिल (रौतहट) ३६ करोड, अन्नपूर्ण सुगर मिल (सर्लाही) १७ करोड, लुम्बिनी सुगर मिल (नवलपरासी) ८ करोड ४१ लाख र इन्दिरा सुगर मिल ४ करोड ७० लाख रहेको छ । यस्तै समितिले श्रीराम सुगर मिलले ३५ करोड, अन्नपूर्ण ३० करोड, लुम्बिनी १० करोड, इन्दिरा ८ करोड र बागमती खाँडसरी चिनी मिल, नवलपरासीले ४० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

अन्नपूर्ण भन्छ : रकम दिएका छौँ, बक्यौता २२ करोड मात्र
यसैबीच, अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रालिले एक वर्षको अवधिमा १८ करोड किसानको बक्यौता तिरेको बताएको छ । मंगलबार एक विज्ञप्ति निकाल्दै उसले गत पुसमा सरकारसँग भएको सहमतिपछि विगत एक वर्षको अवधिमा १८ करोड किसानको बक्यौता तिरेको बताएको छ । अझै पनि निरन्तर बक्यौता तिरेर किसानको दुःखमा मल्हम लगाइरहेको उसको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तर काठमाडौंमा गत आइतबारदेखि भएको आन्दोलमा हामीले एक रुपैयाँ पनि बक्यौता नतिरेको, हामी किसानसँग सम्पर्कमा नरहेको, हामीले नियत राखेर किसानलाई दुःख दिएको जस्ता दुष्प्रचार भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो स्वामित्वमा रहेको दुईवटा उद्योगको एक वर्षअघिको ४० करोड बक्यौता घटेर २२ करोडमा आईपुग्दा पनि आन्दोलनमा रहेका मानिसहरुले हाम्रो एउटै मिलको बक्यौता ३० करोड भनी गलत प्रचार गरेका छन् ।’

दुई वटा चिनी मिल सञ्चालन गर्न दुई अर्ब लगानी गरेको बताउँदै अन्नपूर्णले भनेको छ, ‘गलत ठाउँमा उद्योग चलाएका कारण अहिलेसम्म हामीले ९० करोडभन्दा बढी घाटा खाएका छौँ ।’ यस्तै उसले आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलिया भएको र यो आन्दोलनको नाममा उनले उद्योगसँग मोलमोलाइ गरेको दाबी गरेको छ । ‘हरेक पटक हामीलाई आन्दोलनको धम्की दिएर रायले विभिन्न मितिमा हामीसँग तीन करोड ३३ लाख ९२ हजार भुक्तानी लिएका छन् । भुक्तानी नपाएका किसानसँग उखुका पर्ची सस्तोमा किनेर हामीलाई महँगोमा बेची करोडौं रुपैयाँ रायले लिने गरेको थिए’, विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया