Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

आज राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस ६ गते पनि राष्ट्र बैंकले २१ अर्ब तीन करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति पुस १४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी हुन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ चैत १७ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस १३ गते तोकिएको छ ।

यसअघि यही पुुस ६ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १४ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि सरकारको लागि दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्ममा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएको राष्ट्र बैंकले जनाएको छ ।

‘चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिकाअनुसार चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब र तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन गरिन्छ’, प्रवक्ता डा. भट्टले भने । चालू आवको प्रथम चौमासिकको लागि छु्ट्याइएको कुल आन्तरिक ऋण तालिकाअन्तर्गत भने सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र रहेको छ । यसैगरी दोस्रो त्रैमासिकको लागि छुट्याइएको आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

चालू आवको तेस्रो चौमासिक अवधिमा निष्काशन गरिने कुल आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया