Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमलाई समयसापेक्ष सुधार र उपलब्धिमूलक बनाउन आग्रह

निगमलाई समयसापेक्ष सुधार र उपलब्धिमूलक बनाउन आग्रह


काठमाडौं ।
नेपाल वायुसेवा निगमलाई समयसापेक्ष सुधार र उपलब्धिमूलक बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आग्रह गरेका छन् । निगमको मंगलबार स्थलगत निरीक्षण गरी उच्चपदस्थ कर्मचारीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले निगमलाई यथास्थितिमा नभई समयसापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनु आवश्यक रहेको बताए ।

‘निगमसामु समस्याहरु छन्, समाधान सहज छैन तर सम्बन्धित सबैले प्रतिबद्धताका साथ योगदान गरेमा असम्भव भन्ने केही छैन’, मन्त्री ढकालले भने, ‘नीतिगत, व्यवस्थापकीय कुन पक्षमा त्रुटि छ, त्यसमा सुधार आवश्यक छ ।’ निगमको विकासमा कुनै प्रदूषण छ भने इमानदार भएर शुद्धीकरण गर्दै जानुपर्ने उनले बताए । लक्ष्य ठूलो राखेर मात्र नहुने भन्दै उनले उपलब्धितर्फ पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

निगमको उन्नतिमा आफ्नो तर्फबाट हरसम्भव सहयोग हुने र राजनैतिक हस्तक्षेप नहुनेमा समेत उनले विश्वास दिलाए । उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले राष्ट्रिय ध्वजावाहकको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्य बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै भएको स्थिर सम्पत्तिलाई आयमूलक क्षेत्रमा परिवर्तन गरी वित्तीय सुदृढतातिर लाग्न आग्रह गरे । उनले सकारात्मक सोचसहित सरकारले पुँजी बढाउने काममा सहयोग गर्ने विश्वास दिलाउँदै कर्मचारी पाल्न ऋण लिन नपरेकोमा सह्राहना गरे ।

निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले कोभिड १९ ले ठूलै पीडा दिएको बेलामा पनि निगमले सक्रियतापूर्वक औषधि ढुवानीदेखि उद्धार उडानबाट समेत उल्लेखनीय योगदान गरेको स्मरण गराए । कामको दृष्टिकोणले पर्यटन मन्त्रालय महत्वपूर्ण निकाय भएको र त्यसैको एक अंगको रुपमा नेपाल वायुसेवा निगमको भूमिका र कार्यक्षेत्र व्यापक भएको उल्लेख गर्दै विगतका अनुभवहरुबाट सिकेर नयाँ सम्भावना पहिल्याउन र गन्तव्य विस्तारमा सक्रियतापूर्वक लाग्न निगम सक्रिय रहेको बताए ।

निगमको कार्यनीति, कार्यक्रम र गतिविधिबारे विस्तृत जानकारी गराउँदै निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले प्रशासन, पारदर्शिता, सूचना प्रविधिको विकास, जनशक्तिको उचित उपयोग र सीप विकाससहित अगाडि बढ्न निगम तदारुकताका साथ लागेको बताए । उनले आन्तरिक उडानलाई दुर्गम क्षेत्रमा कायम राख्ने आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय गन्तव्य बढाउने लक्ष्य राखिएको बताए । साथै हिन्दूबहुल भारत र बुद्धिष्ट बहुल चीनबाट यात्रुको प्रवाह बढाउन निगम क्रियाशील रहेको दाबी गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया