Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लोडसेडिङ हुँदैन’

‘लोडसेडिङ हुँदैन’

दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको खपत घटाउन आग्रह


काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ नहुने भन्दै दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको खपत घटाएर बिजुलीको खपत बढाउन आम उपभोक्तासँग आग्रह गरेको छ । पुस १३ गते सोमबार र १४ गते मंगलबारको घटनालाई देखाएर लोडसेडिङ हुन लाग्यो भनेर गरिएको हल्लामा कुनै सत्यता नभएको भन्दै प्राधिकरणले प्राविधिक कारण केही समयका लागि भएको विद्युत् कटौतीलाई लोडसेडिङको सुरुवातको रुपमा गरिएको प्रचारको पछि नलाग्न आग्रह गरेको छ ।

प्राधिकरणले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गरी विद्युत् खपत बढाउन सबैसँग आग्रह गर्दैै हल्लाको पछि नलाग्न आग्रह गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘हामीलाई विद्युत् खपत बढाउनुपर्नेछ । बिजुली कटौती गर्ने भन्ने प्रश्न नै छैन । त्यस्तो हुँदै हुँदैन ।’

यही पुस १३ र १४ गते प्रणालीमा समस्या देखिएको हो । यसलाई आधार मानेर लोडसेडिङ हुन लागेको भनेर गरिएको हल्लामा कुनै सत्यता छैन’, पत्रकार सम्मेलनमा प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘पुस १३ गते मध्यमस्र्याङ्दीको एउटा युनिटमा समस्या आउँदा त्यसले सम्पूर्ण प्रणालीमा नै समस्या आएको र त्यसले खिम्ती–लामो साँघु तथा ढल्केबरमा समेत जटिलता पैदा भएको हो । त्यस दिन साँझ ६ बजेर २५ मिनेटदेखि ६ः२९ सम्म प्रणालीमा समस्या देखिएको र भार प्रेषणकेन्द्र एवं ग्रिड सञ्चालन विभागको प्रयासपछि नियमित बिजुली प्रवाह भएको हो भने पुस १४ गते बानेश्वर सबस्टेसनबाट वितरित बिजुलीमा समस्या देखिएको हो ।’

शाक्यका अनुसार काठमाडौँ उपत्यकामा विद्युत् प्रवाह हुने खिम्ती लामोसाँघु प्रसारणलाइन ट्रिप हुँदा त्यसले कोहलपुर पूर्वका क्षेत्रमा समस्या देखिएको थियो । समस्या आउनेबित्तिकै समाधान गर्न प्राधिकरणको जनशक्ति अहोरात्र परिचालित भएका छन् । प्राधिकरणका अनुसार जाडोका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेको छ । प्राधिकरणको प्रणालीमा एक हजार ४६० मेगावाटसम्म बिजुलीको माग देखिएको छ । विद्युत् आपूर्तिलाई नियमित बनाउन बढी माग हुने समय हेरेर प्राधिकरणका अर्धजलाशयुक्त आयोजनालाई दिउँसोको समयमा बन्द गरी साँझ चलाइएको र भारतबाट पनि आवश्यकताका आधारमा आयात गरिएको प्राधिकरणले जनाएको छ ।

औद्योगिक करिडोरमा समेत बिजुलीको खपत बढाउनतर्फ प्राधिकरण लागिपरेको उल्लेख गर्दै प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले सामाजिक सञ्जालमा आएका अनावश्यक हल्लाका पछाडि नलाग्न आम उपभोक्तालाई आग्रह गरेको छ । ‘हामी सहज रूपमा बिजुली उपलब्ध गराउनका लागि सबै खालका प्रयास गरिरहेका छौँ । दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः घटाउँदै विद्युत्को खपत बढाउनुपर्छ’, कामु कार्यकारी निर्देशक शाक्यले पत्रकार सम्मेलनमा भने ।

अहिले नेपालले बढी बिजुली माग हुने साँझको समयलाई लक्षित गरेर भारतबाट गत वर्षभन्दा १०० मेगावाट बढी बिजुली ल्याएको छ । केही स्थानमा ट्रान्सफर्मर स्थानान्तरण, वितरण लाइनको मर्मत तथा अन्य प्राविधिक कारणले एकाध मिनेट बिजुली काटिँदा त्यसैलाई नै बिजुली कटौती भयो भन्ने अर्थमा लिन नहुने शाक्यको भनाइ छ । गत वर्ष पनि केही सबस्टेसनमा लोड बढी हुँदा आवश्यकताका आधारमा सम्बोधन गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया