Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटेलिकमद्वारा एनटी टिभी ब्राण्डमा आईपी टिभी सेवा सञ्चालन

टेलिकमद्वारा एनटी टिभी ब्राण्डमा आईपी टिभी सेवा सञ्चालन


काठमाडौं ।
नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी टिभीसेवाको शुभारम्भ गरेका हुन् । उनले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित भएको बताउँदै दिगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन निर्देशन समेत दिए । यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पु-याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल साबित गराउनु कम्पनीको दायित्व भएको उनको भनाइ थियो ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरि सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको दाबी गरे । उनले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।

कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ । तत्कालका लागि काठमाडौं उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौंबाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ । राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा बेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ । इन्टरनेट ब्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक–फरक कायम गरिएको छ ।

कम्पनीका अनुसार बेसिक प्याकेजअन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट ब्याण्डविथसहितको एनटी टिभी सेवाको दर १ हजार २ सय ३० रुपैयाँ प्रतिमहिना रहेको छ भने एक वर्षको लागि १५ एमबीपीएस इन्टरनेटसहितको एनटी टिभी सेवा १३ हजार २ सय २० रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी प्रिमियम प्याकेजअन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट ब्याण्डविथसहितको एनटी टिभी सेवा १ हजार ४ सय रुपैयाँमा उपलब्ध हुनेछ भने एक वर्षका लागि ६० एमबीपीएस इन्टरनेटसहितको एनटी टिभी सेवा २४ हजार ५ सय रुपैयाँमा उपलब्ध हुनेछ । बेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएचअन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टिभी सेवा उपलब्ध हुने बताएको छ । यसका लागि बेसिक प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी सेवा ४ सय ८० रुपैयाँमा उपलब्ध हुनेछ भने एक वर्षको ५ हजार ७ सय ८० रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहेका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी ८ सय रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने १२ महिनाको एनटी टिभी ८ हजार ३ सय रुपैयाँमा प्राप्त गर्नेछन् । एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरुसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया