Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरूपमा मनाउन आग्रह

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरूपमा मनाउन आग्रह


काठमाडौं ।
दुई सय ९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले पुस २७ गते नागरिक तहबाट हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागी भई राष्ट्रिय एकता प्रदर्शन गर्न नागरिकहरूलाई आग्रह गरेको छ । आज काठमाडौँमा भएको कार्यक्रममा समितिले काठमाडौँको रत्नपार्कमा पुस २७ गते बिहान साढे १० बजे भेला भई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेको हो । यो अभियानमा अभिनेत्री मनिषा कोइराला, रुक्माङ्गत कटवाल, रमेश खरेल, सिपी मैनाली, आरके मैनाली, प्रेम कैदी, बालकृष्ण न्यौपाने, भरत बस्नेतलगायतको सक्रिय सहभागिता रहेको छ ।

रत्नपार्कमा हुने कार्यक्रममा नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे भन्ने नाराका साथ राष्ट्रिय झण्डामा एक्यबद्ध भई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आवश्यक तयारी भइरहेको पनि समितिले जनाएको छ। साथै समितिले सो दिन सार्वजनिक बिदा दिई सरकारीस्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन सरकारसँग माग गरेको छ ।

सबै सचेत आम नागरिकहरूले नेपाल र नेपालीको भविष्यबारे सोच्न, राष्ट्रिय स्वाभिमान बचाउन र समृद्धिको मार्गचित्र स्पष्ट गर्न आगामी राष्ट्रिय एकता दिवस एउटा सेतु बन्नेछ भन्ने विश्वासका साथ हामी सबै नेपाली दाजुभाई, दिदीबहिनीहरू एवं राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलगायत सबै दल, संगठन, संघसंस्थालाई उक्त दिन राष्ट्रिय झण्डामा एक्यबद्ध भई राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता, आत्मस्वाभिमान, समृद्धि र सुशासनको पक्षमा उभिन र दुई सय ९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश भव्यताका साथ मनाउन हार्दिक आह्वान गर्दछौँ’, समितिले जारी गरेको आग्रहपत्रमा उल्लेख छ ।

समितिले पृथ्वीनारायण शाहको जन्मस्थान रहेको गोरखा दरबारको संरक्षण गरी सो स्थानलाई पृथ्वीनारायण शाहको बाल्यकालदेखि नेपाल एकीकरण र सिंगो जीवनी झल्किने एक संग्रहालय स्थापना गर्न, पृथ्वीनारायण शाह र उनको दिव्य उपदेशलाई स्कुल र कलेजमा अध्यापन गर्ने गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न, पृथ्वीनारायण शाहको जीवनीलाई लिएर राज्यको तर्फबाट एक वृतचित्र बनाउन र सोको व्यापक प्रचारप्रसार गर्न र पुस २७ गते पृथ्वीनारायण शाहको तस्बिर राखी विभिन्न दरका नेपाली मुद्रा, सिक्का र नोट छाप्ने कार्य गर्नगराउन पनि समितिले माग गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया