Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठूला उद्योगका उत्पादन बिक्री गर्ने नाममा व्यवसायीद्वारा सबै परिवार सदस्यका नाममा फर्म दर्ता

ठूला उद्योगका उत्पादन बिक्री गर्ने नाममा व्यवसायीद्वारा सबै परिवार सदस्यका नाममा फर्म दर्ता


विराटनगर ।
सुनसरी मोरङ आद्योगिक करिडोरमा सञ्चालन भएका ठूला उद्योगबाट उत्पादित वस्तुको आधिकारिक डिलरका रूपमा काम गर्दै आएको व्यवसायिक फर्मद्वारा व्यापक राजस्व ठगी हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । एउटै व्यक्तिले परिवारका नाममा पाँचवटासम्म व्यावसायिक फर्म दर्ता गरी ठूला उद्योगका उत्पादन बजारसम्म पु-याउने आधिकारिक डिलर लिएको पाइएको हो । एकै परिवारका नाममा विभिन्न पाँचवटा व्यावसायिक फर्म दर्ता गरी सरकारी राजस्वमाथि नै व्यापक अनियमितता गरेको समेत स्रोतको दाबी छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका ठूला उद्योगका उत्पादनहरू बजारसम्म पु-याउने आधिकारिकता पाएको आर्या ट्रेडर्सले आन्तरिक राजस्व कार्यालयबाट २०६८ सालमा महेशकुमार अग्रवालको नाममा ३०५३४८५९१ बाट मुअकरमा दर्ता कायम भएको व्यावसायिक फर्म देखिएको छ । त्यसैगरी केके सप्लायर्स व्यावसायिक फर्मले किरनदेवी अग्रवालको नाममा २०६६ सालमा ३०३७०८०८७ मा दर्ता कायम गरेको छ भने चारवी सप्लायर्सको व्यावसायिक फर्ममा प्रियन्नका राजगढियाको नामबाट २०७१ सालमा ६०२३०२५०४ मा मुअकरमा दर्ता रहेको छ ।

त्यसैगरी झापा जिल्लाका व्यवसायी सुरेन्द्रकुमार जिन्दललाई व्यावसायिक पार्टनर बनाएर आन्तरिक राजस्व कार्यालय झापाको दमकबाट कृष्ण कन्हैया सप्लायर्सको नामबाट २०७२ सालमा ६०३८६०६७८ मा मूल्य अभिवृद्धि करमा दर्ता भएको देखिन्छ भने अर्को किरण किरानाको नाममा २०५७ सालमा नै ३००४६९२१५ मा दर्ता कायम रहेको फर्मलाई स्वयं व्यवसायी प्रवीण अग्रवालले २०७४ सालदेखि मुअकर समेतको काम गर्ने भन्दै आन्तरिक राजस्व कार्यालयमा दर्ता कायम गरी एकै व्यक्तिले निर्वाधरूपमा व्यावसायिक कारोबार गरेको दाबी रजस्वस्रोतले गरेको छ । सबै उल्लिखित व्यावसायिक फर्महरू प्रवीण अग्रवालले नै सञ्चालन गर्दै आएका छन् । अग्रवाल सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन रहेका धेरै ठूला उद्योगका उत्पादित वस्तुको आधिकारिक डिलरका रूपमा व्यवसाय गर्दै आएका छन् ।

आन्तरिक राजस्व कार्यालयको मूल्य अभिवृद्धि करमा समेत दर्ता कायम गरेको देखिने उक्त व्यावसायिक फर्महरूमा उल्लेख गरिएका नामहरूमा सबै आफ्नै घरका सदस्य र नातागोता मात्र भएको पाइएको छ । ती सबै फर्महरू छुट्टाछुट्टै स्थानमा कार्यालय सञ्चालन गरी कारोबार गर्नुपर्ने भएपनि ऐनको समेत धज्जी उडाएर सञ्चालकले कुनै मापदण्ड समेतको ख्याल नै नगरी पाँच वर्षअघि निर्वाधरूपमा एकै ठाउँबाट व्यावसायिक कारोबार गर्ने गरेका छन् । सरकारको राजस्व अपचलन भएका नभएका विषयमा अनुसन्धान गर्ने र कारोबारअनुसारको सजाय मागदाबी गर्नै एक मात्र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पछिल्लो समय औद्योगिक उत्पादन निकासीको भीसीटीआर विषयलाई लिएर केही समय यतादेखि निस्क्रियजस्तै बनेको छ ।

विगतमा राजस्व छली भएको आशंकामा औद्योगिक प्रतिष्ठानदेखि व्यापारी फर्ममा समेत छापामारी अनुसन्धान गर्दै मुद्दा समेत चलाउने अधिकार पाएको राजस्व अनुसन्धान पछिल्लो समय ती सबै अधिकारबाट वञ्चित गरिएपछि निस्क्रिय बनेको हो । व्यवसायीहरूका लागि चालू आर्थिक वर्षको पुस मसान्त अत्यन्तै महत्वपूर्ण रहने हुँदा यस्ता व्यावसायिक फर्म र व्यवसायी फर्मका धनी व्यापारीमाथि राजस्व अनुसन्धानजस्तो निकायले ध्यान दिन जरुरी रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया