Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारन्यु सयपत्री र संकित जेनेरलद्वारा १ अर्ब ३४ करोड राजस्व छली

न्यु सयपत्री र संकित जेनेरलद्वारा १ अर्ब ३४ करोड राजस्व छली


काठमाडौं ।
राजस्व अनुसन्धान विभाग, पुल्चोकले न्यू सयपत्री इन्टरप्राइजेज र संकित जेनेरल सप्लायर्स प्रालिले झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर (भ्याट) बीजक प्रयोग गरी राजस्व चुहावट गरेको बताएको छ । विभागका सूचना अधिकारी नरनाथ गिरीले न्यु सयपत्री इन्टरप्राइजेज र संकित जेनेरलले झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर (भ्याट) बीजक प्रयोग गरी एक अर्ब ३४ करोड ९५ लाख रुपैयाँ राजस्व चुहावट गरेको बताएका हुन् । कर छल्ने दुवै कम्पनीविरुद्ध विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार जरिवाना र कैद सजाय समेत मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

विभागले झूठो तथा नक्कली भ्याट बीजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा बारा सिमरा पिपरा १ बस्ने न्यु सयपत्री (स्थायी लेखा नं ६०२२९८६३८) का प्रोपाइटर विवेक मगर समेत १३ वटा फर्मका सञ्चालक, प्रोपाइटर तथा मुख्य कारोबारी मनिष कुमार समेत १५ जनाबाट एक अर्ब २२ करोड २० लाख तथा सर्लाही बलरा गाउँपालिका वडा नं. २ बस्ने संकित प्रालि (स्थायी लेखा नं. ६०११७६५७९) का सञ्चालक सुबोध साहबाट १२ करोड ७५ लाख ५१ हजार रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी लिई शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

न्यु सयपत्री तथा प्रोपाइटर मगर र कुमारका विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुरलगायत व्यक्तिको नाममा दर्ता गरी विभिन्न फर्महरुको नाममा झूठा तथा नक्कली बिक्रीबीजक जारी गरी आव २०७१/०७२ देखि २०७३/०७४ सम्ममा भ्याट तथा आयकर राजस्व चुहावट गरेको पाइएको छ । उनले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी २०५२ को दफा ४ बमोजिम कसुर गरी भ्याटतर्फ ३७ करोड ३६ लाख ६३ हजार, आयकरतर्फ ८४ करोड २९ लाख र लाभांश करतर्फ ५४ लाख ४७ हजार राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ बमोजिम एक अर्ब २२ करोड २० लाख १९ हजार कायम गरी प्राप्त सबै सबुद प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित हुनआएकोले प्रोपाइटर मगर र कुमार समेत १३ फर्मका सञ्चालक तथा प्रोपाइटर र मुख्य व्यक्ति समेत १५ जनालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २३ बमोजिम एक अर्ब २२ करोड २० लाख १९ हजार असुलउपर गरी जरिवाना र कैद सजाय हुन मागदाबीसहित मुद्दा दायर गरिएको हो ।

यस्तै संकित जेनेरल प्रालिका सञ्चालक साहले कुनै वस्तु तथाा सेवा खरिद तथाा आयात नगरी विभिनन फर्महरुलाई नक्कली तथा झूठा बीजक उपलब्ध गराई जालसाजी गरी मूल्यअभिवृद्धि कर तथा आयकर छली गरी मूल्यअभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको देखिएकोले फर्मका सञ्चालक सुबोध साहले राजस्व चुहावट ऐनको दफा ३ ले निषेधित र सोही ऐनको दफा ४ बमोजिम कसुर गरी साहारा एन्ड खातुन ट्रेडर्सले भ्याटतर्फ चार करोड ५१ लाख २७ हजार, आयकरतर्फ सात करोड १८ लाख ६६ हजार र लाभांश करतर्फ एक करोड पाँच लाख ५७ हजार रुपैयाँ राजस्व चुहावट गरेको पाइएको छ ।

निज साहलाई नक्कली एवं झूठा बीजक बनाई राजस्व चुहावट गरेकाले राजस्व चुहावट ऐनको दफा २ बमोजिम कुल बिगो १२ करोड ७५ लाख ५१ हजार रुपैयाँ कायम गरी प्राप्त सबै सबुद प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित हुनआएको भन्दै विभागले उनलाई उल्लिखित ऐनको दफा २ बमोजिम १२ करोड ७५ लाख ५१ हजार असुउपर र जरिवाना तथा कैदसजाय माग गरिएको छ ।

विभागका अनुसार पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका मजदुरको नाममा फर्म दर्ता गरी नक्कली कारोबार गर्ने संस्थाहरु बढेका छन् । यसरी आर्थिक अवस्था कमजोर भएकालाई प्रयोग गरी नक्कली कारोबार गर्दा मजदुरहरु समेत समस्यामा पर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया