Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेगा केबलका सञ्चालक पौडेलमाथि पोखरेल समूहको ज्यादती !

मेगा केबलका सञ्चालक पौडेलमाथि पोखरेल समूहको ज्यादती !


काठमाडौं ।
मेगा केबल नेट प्रालिका सेयर सदस्य पीडित श्याम प्रसाद पौडेलको सेयर हडप्न अन्य सञ्चालकहरु एकजुट भएका छन् । मेगा केबलका सेयर सदस्य पौडेलले मेगाप्लस सहकारीका अध्यक्ष समेत रहेका मेगा केबलका प्रबन्धसञ्चालक बद्री पोखरेलले सहकारीको ऋण अपचलन गरेको आरोप लगाएका थिए ।

सोही आरोपपछि आक्रोशित बनेका बद्री पोखरेललगायत सञ्चालकहरुले आफूसरह सेयर रहेका पौडेललाई निष्काशन गरेको भन्दै विज्ञप्ति नै निकालेका छन् । आफूलाई पोखरेललगायत समूहले पीडित बनाएको भन्दै मिडियामा आएका पौडेलविरुद्ध सूचना छपाएर ‘बेपत्ता भएको’ आरोप समेत लगाइएको छ । त्यतिमात्रै होइन मेगा टेलिभिजन समेत सञ्चालन गर्ने बद्री पोखरेलले पौडेलविरुद्ध आफ्नै टेलिभिजनमा कार्यरत समाचार प्रमुख बताउने रोशन दानीलाई झूटो समाचार लेख्न समेत लगाएका छन् ।

रोशन दानीको बाइलाइनमा एक अनलाइनमा पीडित पौडेलमाथि नै विभिन्न आरोप लगाएर समाचार छापिएको छ । त्यतिमात्रै होइन पोखरेललगायतको समूहले पौडेलमाथि ३३ लाख रुपैयाँ अपचलन गरेर सम्पर्कविहीन भएको भन्दै महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी समेत दिएका छन् । तर, उजुरी दिने व्यक्तिहरुले पौडेललाई दुःख दिने नियतले झूटो निवेदन हालेको भन्दै प्रहरीले गम्भीरतापूर्वक लिएको भने छैन । उजुरी गर्ने समूह प्रहरीले छलफल गर्न बोलाउँदा समेत उपस्थित नभएको स्रोतले बताएको छ ।

मेगा केबल नेट प्रालिमा आफूलाई दुःख दिएको भन्दै पौडेलले आफ्नो सेयर फिर्ता दिन विभिन्न समयमा सञ्चालक समितिमा निवेदन दिएका थिए । तर, निवेदन दिँदा समेत सुनुवाइ नभएपछि केही दिनअघि उनले प्रहरीलाई समेत गुहार मागेका थिए । प्रहरीले समेत सुनुवाइ नगरेपछि उनी सञ्चारमाध्यममा आएका थिए ।

सञ्चारमाध्यममा खबर आएपछि मेगा केवल नेट प्रालिका प्रबन्धसञ्चालक बद्री पोखरेलले पीडित पौडेलको घरमा आफ्ना प्रतिनिधि पठाएका थिए । उनको प्रतिनिधि बनेर गएका सेयर सदस्य समेत रहेका हिरा प्रकाश गौचनले ‘अहिले १० लाख रुपैयाँ’ लिएर बाँकी पैसा केही दिनमा दिने प्रस्ताव गरेका थिए । तर, पौडेलले आफूले पाउनुपर्ने रकम एकैसाथ पाउनुपर्ने बताएपछि विवाद मिल्नसकेको थिएन । एकैसाथ पैसा दिन नसकेपछि पोखरेलले केही दैनिक पत्रिकामा पीडित पौडेल सम्पर्कविहीन भएको भन्दै पैसा खर्च गरेर सूचना छापेका थिए ।

पत्रिकामा सूचना छापेको केही दिनपछि उनले प्रहरीमा समेत झूटो निवेदन दिएको पीडित श्याम प्रसाद पौडेलले बताए । मेगा टेलिभिजन, मेगा केवल नेटवर्क र मेगा सहकारी गरी तीनै संस्थाको अध्यक्ष रहेका पोखरेलले सहकारीको रकम आफ्नै अध्यक्षतामा रहेको अन्य संस्थाबाट मनोमानी रुपमा निकाल्ने गरेको तथ्य खुलासा भएको थियो ।

पोखरेललगायत समूहले रकम ठगी अभियोगमा जेल परेका वेभ सर्फरका अध्यक्ष सुमन क्षेत्रीलाई जेलबाट निकाल्न समेत सहकारीकै रकम अपचलन गरेका थिए । ‘उहाँहरुले ठगी अभियोगमा जेल परेका वेभ सर्फरका मालिक सुमन क्षेत्रीका दाजुभाइलाई जेलबाट निकाल्न त्यतिबेला नै ८५ लाख रुपैयाँ सहकारीबाट निकाल्नुभएको रहेछ’, पौडेलले भनेका थिए, ‘त्यही सम्बन्धका कारण मेगा केबलमा वेभ सर्फरको लगानीकर्ता कम्पनी बोर्डकमले ५० प्रतिशत लगानी गरेको छ । त्यो रकम त्यही ऋणबाट कटाइँदै छ ।’

लेखापरीक्षण प्रतिवेदनअनुसार उनी आफैँ अध्यक्ष रहेको सहकारी मेगा प्लसबाट आफैँ अध्यक्ष प्रबन्धसञ्चालक रहेको मेगा केबल नेटको नाममा एक करोडभन्दा बढी ऋण निकालिएको छ । आफू संलग्न भएकै कम्पनीको नाममा आफ्नै अध्यक्ष रहेको सहकारी तथा वित्तीय संस्थाबाट ऋण निकाल्नु नै ऋण अपचलन हो । सहकारी विभागका एक अधिकारीका अनुसार यसरी ऋण निकाल्ने सहकारीविरुद्ध लिखित उजुरी आए विभागले कारबाही गर्नसक्छ ।

सहकारीका अध्यक्ष पोखरेलले टेलिभिजन, सहकारीमा आफू र आफ्नो स्टाफले खाएको खाजा समेत मेगा केबलको नाममा बिल तिराउने गरेको सेयरधनी पौडेलको आरोप छ । सहकारीले पोखरेल नै अध्यक्ष रहेको मेगा केवललाई नै २१ प्रतिशत ब्याज र ३ प्रतिशत सेवाशुल्कमा ऋण लगाएको छ । ‘मेगा केबलसँग २१ प्रतिशतको दरले ब्याज खाइरहेको छ भने सोही रुपमा हिसाब गर्दा केवलमा मात्रै उनले ३० देखि ३१ लाख रुपैयाँ अपचलन गरेको छ’, पौडेलले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया