Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वजनिक जग्गालाई यूरो हाउजिङको नाममा पास गर्ने १७ जनाविरुद्ध मुद्दा दायर

सार्वजनिक जग्गालाई यूरो हाउजिङको नाममा पास गर्ने १७ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजानिक जग्गालाई यूरो हाउजिङको नाममा पास गर्ने १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले ललितपुरको साबिक हरिसिद्धि गाविस वडा नं. १ हाल ललितपुर महानगरपालिका वडा नं. २८ र साबिक धापाखेल गाविस वडा नं. १ हाल ललितपुर महानगरपालिका वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सार्वजनिक जग्गा यूरो हाउजिङ डेभलपर्स कम्पनीको नाममा पास गरिदिने नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले उनीहरूविरुद्ध दुई करोड दुई लाख ३३ हजार छ सय ७१ रूपैयाँ बिगो कायम गरी गैरकानुनी लाभ तथा हानीसम्बन्धी मुद्दा दायर गरेको जनाएको छ ।

आयोगका अनुसार यूरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालय ललितपुरका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गा समेत प्लटिङ गरी व्यक्तिविशेषलाई बिक्रीवितरण गरिएको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा राष्ट्रसेवक कर्मचारीहरू र उक्त कम्पनीहरूका सञ्चालकहरूको एकआपसमा मिलेमतो, गैरकानुनी र प्रत्यक्ष संलग्नतामा उक्त क्षेत्रको आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले उक्त प्रकरणमा तत्कालीन नापी कार्यालय र मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरू, यूरो ल्याण्ड डेभलपर्स प्रालि, यूरो हाउजिङ डेभलपर्स प्रालि र काठमाडौँ हस्पिटल प्रालिका सञ्चालक समेतको संलग्न रहेको जनाएको छ ।

आयोगले नापी कार्यालयका तत्कालीन कार्यालय प्रमुख बुद्धिमान् जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेल, यूरो हाउजिङ डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, बबिन मानन्धर र उज्जल मानन्धर, काठमाडौँ अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र श्रीमती दुर्गेस नन्दिनी भट्टचनविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले सबैसँग दुई करोड दुई लाख ३३ हजार छ सय ७१ रूपैयाँ बिगो मागदाबी गरेको छ ।

साथै उक्त जग्गा किनेर हाल कायम रहेका जग्गाधनीहरू ज्योत्सना जोशी, देवी मिश्र, अरुणा झा, एपेक्स कलेज प्रालिका प्रतिनिधि सोमनाथ प्रसाई, कुमारी कंचन साह, कृष्ण साल्की, गोपाल तिमल्सिना, तीर्थबहादुर कार्की, त्रिलोकराज शाक्य, देवनारायण तिमल्सिना, नारायण देवी मानन्धर, निर्मला शाक्य, पूर्णगोविन्द लाखे श्रेष्ठ, विरो देवी यादव, भुवनेश्वरी पराजुली, पंकज पराजुली, मिनाकुमारी कार्की राउत, यूरो हाउजिङ डेभलपर्स प्रालिका गुणीकाजी मानन्धर, रस्मी महर्जन, राजेन्द्रप्रसाद रूपाखेती, राज्यलक्ष्मी अमात्य, रामदुलारी देवी साह, राममाया महर्जन, रूपा श्रेष्ठ, लोकबहादुर डंगोल, लोकेश महर्जन, शकुन्तला श्रेष्ठ, सुशिल मानन्धर, सरिताकुमारी ठाकुर, सुनिल मानन्धर, सुरेन्द्रकुमार मण्डल, सोनिया पोख्रेललगायत ३३ जनालाई भने आयोगले जग्गा फिर्ता गरी सरकारलाई जग्गा हस्तान्तरण गराउन माग गरेको छ ।

नापी विभाग र मालपोत कार्यालयको विभिन्न पत्रहरू हेर्दा उनीहरूले उक्त जग्गा किनेको पाइएकोले उनीहरूविरुद्ध सजायको मागदाबी गर्नु न्यायोचित नदेखिएको आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया