Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल विज्ञापन संघ आनमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघ आनमा नयाँ नेतृत्व


काठमाडौं ।
नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले आगामी तीन वर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा संघको १०औँ कार्यसमितिको चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितीय उपाध्यक्ष पिताम्बर पोख्रेल ‘विजय’, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जीवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, विधान राजभण्डारी विजय भएका छन् ।

प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष निर्विरोध चयन भएको थियो भने अन्य पदको लागि निर्वाचन गरिएको थियो । सदस्य पदमा १५ जना प्रत्याशी र वरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २÷२ जना प्रत्याशी थिए । संघको विधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’बाट आगामी कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । संघमा आबद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।

त्यस्तै संघको सदस्यहरुमा साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने र विधान राजभण्डारी निर्वाचित भएका छन् । निर्वाचन प्रजातान्त्रिक प्रक्रिया मात्र भएको र जो जसको प्रत्याशी रहे पनि आगामी दिनमा सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा संघ अगाडि बढ्नुपर्ने आनका नवनियुक्त अध्यक्ष सोम प्रसाद धितालले बताए ।

निर्वाचनअगाडि संघका अध्यक्ष रवीन्द्र कुमार रिजाल ‘शशी’को अध्यक्षता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, संघका पूर्वअध्यक्षहरु तथा पदाधिकारीहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ/संस्था, सरकारी निकायको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष रिजालले विज्ञापन क्षेत्रमा रहेका यावत् समस्याहरुबारे सभालाई जानकारी गराउँदै समस्या समाधानमा विशेष पहल गरिदिन सरकारलाई आग्रह गरेका थिए । संघका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसायसम्बन्धी समस्या, चुनौती र समाधानको विषयमा उजागर गरेका थिए । त्यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा विज्ञापन संघको प्रतिनिधित्व गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन आग्रह गरे । उदघाट्न सत्रको समापन गर्दै वरिष्ठ उपाध्यक्ष सोम प्रसाद धितालले यथाशीघ्र विज्ञापन बोर्डमा संघको प्रतिनिधित्वको माग गरेका थिए । करिब दुई घण्टा चलेको उद्घाटन सत्रपछि बन्दसत्र र निर्वाचन कार्यक्रम गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया