Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर कारोबार गर्ने संस्थाहरूको एक प्रतिशत रकम सीएसआरमा

सेयर कारोबार गर्ने संस्थाहरूको एक प्रतिशत रकम सीएसआरमा


काठमाडौं ।
सेयर कारोबार गर्ने संस्थाहरूले आफ्नो खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अर्थात् सीएसआर) शीर्षकमा खर्च गर्नुुपर्ने भएको छ । सेयर कारोबारको लागि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सोमबार केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूको नाउँमा विज्ञप्ति जारी गर्दै आफ्नो खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्न निर्देशन दिएको हो ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सामाजिक उत्तरदायित्व शीर्षकको खर्च विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा गनुपर्नेछ । यसरी खर्च गर्दा सबै प्रदेशमा आवश्यकताअनुरुप खर्चको वितरण हुनुपर्नेछ भन्दै उनले मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको उल्लेख गरे ।

धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगी एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको छ । अहिले दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख सहरबाट कारोबार गर्नसक्ने व्यवस्था भएको र बजारमा नयाँ लगानीकर्ताको प्रवेश समेत बढ्दै गइरहेको सन्दर्भमा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजारसम्बद्ध सबै पक्षहरूको सहभागिताको आवश्यकता देखिएकोले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

धितोपत्र व्यवसायीको खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउने र प्रमुखरुपमा उक्त कोषमार्फत लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन हुने जसबाट लगानीकर्ताले सुसूचित निर्णय लिन सहयोग पुग्नेछ । यसले लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा लिएको पनि प्रवक्ता गिरीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया