Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल चेम्बर र इजरायल चेम्बरबीच व्यापारिक सम्बन्ध कायम गर्ने समझदारी

नेपाल चेम्बर र इजरायल चेम्बरबीच व्यापारिक सम्बन्ध कायम गर्ने समझदारी


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्सबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायलस्थित नेपालका राजदूत डा. अन्जान शाक्य तथा नेपालस्थित इजरायलका राजदूत हनान गोडर गोल्ड बर्गरको उपस्थितिमा आयोजित भर्चुअल बैठकमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले यस समझदारीपत्रबाट दुवै मुलुकका व्यावसायिक निकायबीच व्यापारिक सम्बन्ध कायम हुने बताए । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्थाबीच भएको समझदारी सबैको लागि महत्व रहेको बताए ।

इजरायलका लागि नेपालका राजदूत शाक्यले नेपाल र इजरायलका निजी क्षेत्रबीच सम्बन्ध विस्तारका लागि दुवै चेम्बरको सोझै सम्पर्क कायम राख्न यस समझदारीपत्र भएको उल्लेख गरिन् । साथै इजरायलमा नेपालमा उत्पादित चियाको बजार क्रमशः विस्तार हुँदै गएकोले नेपाली उत्पादनका लागि इजरायल राम्रो गन्तव्य हुने उनको भनाइ थियो । नेपालका लागि इजरायलका राजदूत वर्गरले नेपाल पर्यटकीय सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै पर्यटनको निमित्त इजरायली पर्यटकको लागि उपयुक्त गन्तव्य भएको बताए ।

कार्यक्रममा इजरायल–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टीन राइसले यस समझदारीपत्रद्वारा दुई देशबीच आर्थिक सम्बन्ध बढाउन उपयुक्त मञ्च प्राप्त भएको बताए । साथै उनले कोभिडपश्चात् नेपाल र इजरायलबीच व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान हुने आशा व्यक्त गरे । चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले इजरायलले सूचना तथा प्रविधिको क्षेत्रमा गरेको प्रगति, कृषिमा भएको यन्त्रीकरणबाट नेपालले फाइदा लिनसक्ने बताए । साथै उनले नेपाल जलस्रोतको अपार भण्डार भएको मुलुक भएकोेले हाइड्रोपावर क्षेत्रमा लगानीको लागि आह्वान समेत गरे ।

समझदारीपत्रमा इजरायल चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत इजरायलबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकहरुसम्म विस्तार गर्ने, दुईपक्षीय तथा बहु–पक्षीय व्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रवर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदानप्रदान व्यावसायिक सूचना आदानप्रदान गर्नेलगायतका बुँदाहरु समावेश छन् ।

उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य उर्मिला श्रेष्ठ तथा दिपेश रत्न तुलाधर सहभागिता रहेको थियो । हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा विभिन्न अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया