Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटा चार खर्ब ७५ अर्ब

व्यापारघाटा चार खर्ब ७५ अर्ब

पाँच महिनामा पाँच खर्ब २५ अर्बको आयात हुँदा ५० अर्बको मात्रै निर्यात


काठमाडौं ।
मुलुकको वैदेशिक व्यापार घाटामा संकुचन आएको छ । नेपाल राष्ट्र बैंकले बुुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पाँच महिनाको प्रतिवेदनअनुसार आयातमा कमी आई निर्यात वृद्धि भएका कारण पनि व्यापार घाटामा संकुचन आएको छ ।

प्रतिवेदनअनुसार चालू आवको पाँच महिनामा कुल वस्तु आयात नौ दशमलव छ प्रतिशतले घटेर पाँच खर्ब २५ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार दशमलव दई प्रतिशतले घटेको थियो । यस अवधिमा कुल वस्तु निर्यात भने पाँच दशमलव एक प्रतिशतले वृद्धि भई ५० अर्ब छ करोड पुगेको छ । सोही आधारमा चालू आवको पछिल्लो पाँच महिनामा कुल वस्तु व्यापारघाटा १० दशमलव नौ प्रतिशतले घटेर चार खर्ब ७५ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दशमलव तीन प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः आठ दशमलव छ प्रतिशत र शून्य दशमलव आठ प्रतिशतले निर्यात बढ्दा चीनतर्फको निर्यात भने ५५ दशमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायतका वस्तुको निर्यात बढे पनि पाम तेल, दाल, जस्तापाता, ऊनी गलैँचा, लत्ताकपडालगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार दशमलव दुई प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः एक दशमलव एक प्रतिशत, २४ दशमलव चार प्रतिशत र २० दशमलव आठ प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव दुई प्रतिशत रहेको थियो ।

कुल विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७४ अर्ब : नेपालको विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच दशमलव दुई प्रतिशतले बढेर २०७७ मंसिर मसान्तमा १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा सात दशमलव सात प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा पाँच दशमलव नौ प्रतिशतले बढेर १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा शून्य दशमलव एक प्रतिशतले कमी आई एक खर्र्ब ७५ अर्ब ६२ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०७७ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव नौ प्रतिशत रहेको छ ।

पाँच महिनामा भित्रियो चार खर्ब १६ अर्ब रेमिट्यान्स
पछिल्लो समय वैदेशिक रोजगारीबाट प्राप्त आय विप्रेषण आप्रवाह (रेमिट्यान्स रकम) बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह १० दशमलव नौ प्रतिशतले बढेर चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव चार प्रतिशतले वृद्धि भई तीन अर्ब ५२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव चार प्रतिशतले बढेको थियोे । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७ दशमलव नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११ दशमलव आठ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९ दशमलव चार प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या सात दशमलव छ प्रतिशतले बढेको थियो ।राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर आठ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक दशमलव एक प्रतिशतले घटेकोे थियो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया