Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा ९० प्रतिशत चुनढुंगा खानी

नेपालमा ९० प्रतिशत चुनढुंगा खानी

खानीहरु पनि उद्योगको रुपमा विकास भइरहेका छन् : पूर्वअध्यक्ष मुरारका


काठमाडौँ ।

नेपालमा विभिन्न निर्माणजन्य सामग्रीको उत्पादनमा वृद्धि भएको छ । यसका लागि आवश्यक कच्चापदार्थको उत्पादनमा समेत वृद्धि भएको छ । खानी तथा भूगर्भ विभागले निर्माणजन्य सामग्रीको लागि आवश्यक कच्चापदार्थका लागि भन्दै विभिन्न प्रकारका खनिजजन्य एक सय ५० भन्दा बढी खानी सञ्चालनमा रहेको जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको हालसम्म नेपालमा एक सय ५२ विभिन्न प्रकारका खानी सञ्चालनमा आएको विभागका उपमहानिर्देशक जयराज घिमिरले बताए । ‘पछिल्लो समय चुनढुंगा उत्खनन गर्न दुई खानी सञ्चालनमा आएसँगै खानीको संख्या बढेको हो’, उनले भने, ‘खानी सञ्चालनका लागि अर्थात् खनिज पदार्थ उत्खनन गर्न चाहने उद्योगी समेत बढेका छन् ।’

यस्तै मुलुकमा चुनढुंगा, पत्थर, फलाम, तामा, सिसालगायतका कच्चापदार्थ उत्पादन गर्ने खानीहरु रहे पनि सबैभन्दा बढी खानी भने चुनढुंगाको रहेको विभागको भनाइ छ । विभिन्न प्रकारका खानीहरुमध्ये ८५ देखि ९० प्रतिशत खानी चुनढुंगाको छ भने बाँकी १० देखि १५ प्रतिशत भने डोलामाइट, खरी, पत्थर कोइलाका खानी छन्’, उपमहानिर्देशक घिमिरले भने, ‘यस्तै फलाम, तामा, सिसाजस्ता धातुजन्य कच्चा पदार्थको खानी भने एक÷एक वटा छन् ।

बढी मात्रामा चुनढुंगा खानी मुलुकमा हुनु भनेको भने मुलुकमा पर्याप्त मात्रामा सिमेन्ट उद्योगहरु रहनुले गर्दा सम्भव भएको विषयलाई विभागले पनि स्वीकार्दै आएको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ भने यसका लागि आवश्यक पर्ने कच्चापदार्थ क्लिंकर तथा चुनढुंगाको लागि समेत आत्मनिर्भर बनिसकेको छ । त्यसैले यसको खानी बढी हुनु स्वाभाविक भएको नेपाल सिमेन्ट उत्पादक संघको भनाइ छ ।

नेपाल उद्योग वािणज्य महासंघका पूर्वअध्यक्ष एवं अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट उद्योगका लागि चुनढुंगा प्रमुख कच्चापदार्थ भएकोले सिमेन्ट उद्योगमा भएको वृद्धिकै कारण चुनढुंगा खानीको संख्या समेत बढेको बताए । ‘कतिपय सिमेन्ट उद्योगहरुले स्वयं आफैँ चुनढुंगा खानी सञ्चालन गरेका छन्’, उनले भने, ‘उद्योगले आफ्नै चुनढुंगा खानी सञ्चालन गर्नु राम्रो कुरा हो भने आफ्नै खानी नहुनेले भने नजिककै खानीको कच्चापदार्थ प्रयोग गर्ने गरेका छन् ।’
उनले पछिल्लो समय चुनढुंगा उत्पादन गर्ने खानीहरु माग बढेसँगै उद्योगको रुपमा विकास भएको समेत बताए । ‘धेरै परिमाणमा चुनढुंगा आवश्यक पर्ने हुँदा एउटै खानीबाट उत्पादन सम्भव नहुँदा उत्पादनकर्ताहरुले उद्योगको रुपमा विकास गरेका हुन्’, सञ्चालक मुरारकाले भने, ‘उद्योगलाई पाँचदेखि १० टन समेत चुनढुंगा आवश्यक पर्न सक्छ, त्यो एउटा खानीबाट सम्भव नहुनसक्छ । त्यसले पनि खानी तथा उत्खनन उद्योग बढ्दै गएका हुन् ।’

यस्तै कोरोना महामारीका कारण बन्दाबन्दीको समयमा भने खानीहरु सञ्चालनमा आउनसकेका थिएनन् भने हाल भने सामान्य अवस्थामा सम्पूर्ण खानीहरु सञ्चालन भइरहेको छ । कोरोना महामारीले खानी सञ्चालनमा असर गरेको थियो जसले गर्दा कच्चा पदार्थ उत्खननको काम ठप्पै भएको उपमहानिर्देशिक घिमिरले बताए ।

उनले भने, ‘अहिले भने पुरानै लयमा खानी सञ्चालन हुन थालिसकेको छ । कच्चा पदार्थ झिक्ने काम निरन्तर भइरहेको छ । कोरोना महामारीका समयमा सीमित क्लिंकर आयात गरिएको भए पनि हाल भने आयात ठप्प रहेको सञ्चालक मुरारकाले बताए । मुलुकमा रहेका खानीहरु सञ्चालन भएसँगै क्लिंकरको आयात रोकिएको उनको भनाइ छ ।

यस्तै नेपालमा चुनढुंगा, पत्थर, फलाम, तामाका अलावा रेडियोधर्मी, पेट्रोलियम, प्राकृतिक ग्यास, प्लेटिनमलगायतका वस्तुहरु पाइने बताए पनि त्यसको उत्खनन भने हुनसकेको छैन । चुरे पहाड क्षेत्रमा चुनढुंगा खानी प्रशस्त मात्रामा रहेको छ भने धेरै संख्यामा सिमेन्ट उद्योगहरु समेत सो क्षेत्रमा रहेका छन् ।

दाङको तुलसीपुरमा शुभश्री, सोनापुर, घोराही, सोनापुर सिमेन्ट उद्योग सञ्चालनमा छन् भने नवलपरासीमा ह्वाङसी, सर्वोत्तम, सर्लाहीमा मारुतीलगायतका सिमेन्ट उद्योग छन् । सिमेन्ट उद्योगहरुले नै क्लिंकरको उत्पादन गर्दै स्वयं प्रयोग गर्दै बिक्री समेत गर्दै आएका छन् । ह्वाङ्सीले उत्पादन गरेको क्लिंकर सस्तो मूल्यमा बिक्री गर्न थालेपछि भने क्लिंकरको मूल्यमा प्रतिस्पर्धा सुरु भएको थियो । नेपालमा उत्पादित क्लिंकर भारतमा समेत निर्यात हुने गरेको छ ।

१६ प्रकारका खनिज पदार्थ उत्खनन तथा खानी सञ्चालनका लागि अनुमति दिने गरेको विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको उत्खनन एवम् उत्पादन, खनिज पदार्थको निकासीलगायतका शीर्षकबाट गत आर्थिक वर्षमा करिब साढे ८४ करोड रुपैयाँ राजस्व समेत उठाएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया