Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ढोला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ढोला पक्राउ


काठमाडौँ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कृष्णलाल ढोला पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार भक्तपुर नगरपालिका ५ बस्ने ३८ वर्षीय ढोलालाई आइतबार काठमाडौंको अनामनगरबाट पक्राउ गरिएको हो ।

प्रवक्ता पन्तका अनुसार शुभ कुमारी मगरले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको वि.सं. २०७६ मंसिर २३ गतेको फैसलाले ढोलालाई नौ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । सोपश्चात् सजाय बेरुजु रही फरार रहेका ढोलालाई अनामनगर, काठमाडौंबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रवक्ता पन्तका अनुसार पक्राउ परेका ढोलालाई फैसला कार्यान्वयनको लागि सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ । ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी ज्योति विकास बैंक ललितपुर शाखाको चेक काटिदिएकोमा बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको हुनाले कुनै भुक्तानी नभई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको थियो ।

यसैबीच, प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन सय ४५ ग्राम सुनसहित राहदानी नम्बर ०७२३०८५३ वाहक चितवन भरतपुर उपमहानगरपालिका १३ घर भएका सुवास गुरुङलाई सोमबार बिहान पक्राउ गरेको छ । कतार एयरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका ९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्र्रहरीले पक्राउ गरेको छ । बरामद सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया