Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको कुल कर्जा ३५ खर्ब १८ अर्ब नाघ्यो

बैंकिङ क्षेत्रको कुल कर्जा ३५ खर्ब १८ अर्ब नाघ्यो

कुल कर्जामध्ये औसतमा एक दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय


काठमाडौं ।
बैंकिङ क्षेत्रको कुल कर्जा रकम ३५ खर्ब १८ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले कुल ३५ खर्ब १८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । उक्त परिमाणमा कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ७३ प्रतिशत कर्जा भने निष्क्रिय देखिएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप भने ४१ खर्ब ८० अर्ब ७१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम भने ३१ खर्ब १९ अर्ब ९७ करोड ९० लाख रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकहरुको कुल निक्षेप भने ३७ खर्ब ११ अर्ब ४९ करोड ३० लाख रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुमा मात्र औसतमा एक दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । विकास बैंकहरुले भने चालू आवको पुस मसान्तसम्ममा तीन खर्ब ८२ अर्ब ३९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब २१ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको मंसिर मसान्तसम्ममा ९६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा छ दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने पाँच हजार आठ सय ७० पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार पाँच सय ८५, विकास बैंकहरुको एक हजार ३२ र फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या दुई सय ५३ वटा रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या भने चार हजार एक सय ९१ वटा पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र एटीएम काउन्टरको संख्या तीन हजार आठ सय ३१ रहेको छ भने विकास बैंकहरुको मात्र एटीएम काउन्टरको संख्या तीन सय नौ र फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या भने ५१ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया