Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने जिम्मा विदेशी संस्थालाई

धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने जिम्मा विदेशी संस्थालाई


काठमाडौँ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा भेटिएको फलाम खानीको सम्भाव्यता अध्ययनको लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरिने भएको छ ।मुलुकमा उपलब्ध संस्थाहरुसँग फलाम खानीको सम्भाव्यता अध्ययन नगरेको पाएसँगै खानी तथा भूगर्भ विभागले धौवादी फलाम खानीको सम्भाव्यता अध्ययनको जिम्मेवारी विदेशी कम्पनीलाई दिने तयारी गरेको हो ।विभागका उपमहानिर्देशक जयराज घिमिरेले देशमा फलाम खानी सञ्चालन नहुदाँ यससम्बन्धी काम गर्ने संस्था नहुँदा अन्तर्राष्ट्रियजगत्मा जानुपर्ने बाध्यता परेको बताए ।

‘नेपालमा फलाम खानी नहुँदा यसको सम्भाव्यता अध्ययन गर्ने संस्था नपाएका हौँ’, उपमहानिर्देशक घिमिरले भने, ‘हामीले यस विषयमा आन्तरिक छलफल गरेर अघि बढेका हौँ । मुलुकमा भवन, सडक, पुललगायतका संरचनाको सम्भाव्यता अध्ययन गर्ने संस्था भए पनि फलाम खानीको हकमा भने सम्भाव्यता अध्ययन गर्ने संस्था नहुँदा अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गर्ने तयारी गरेका हौँ ।’यसैबीच विभागले सम्भाव्यता अध्ययनको लागि अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गर्नको लागि आवश्यक कागजात तयार गरेको जानकारी दिएको छ ।

‘विभागले सम्भाव्यता अध्ययनको लागि चाँडै बोलपत्र आह्वान गर्ने तयारी गरेको छ’, उनले भने, ‘सार्वजनिक खरिद नियमावलीअनुरुप हामी अघि बढ्दा समय भने लाग्नेछ ।’हाल खानी क्षेत्रमा क्षेत्रमा डिलिङको काम भइरहेको छ । सम्भाव्यता अध्ययनको लागि सहयोग होस् भनेर फलामको मोटोपन पत्ता लगाउन ड्रिलिङ कार्य गरिरहेको उपमहानिर्देशक घिमिरले आर्थिक दैनिकलाई जानकारी दिए । उनले भने, ‘खानी रहने क्षेत्रका दुई स्थानमा निकै गहिरो र पाँच स्थानमा आवश्यकताअनुसारको डिलिङ गरिरहेका छौँ ।

यो काम ४ देखि ६ महिनामा सम्पन्न हुनेछ भने त्यहाँबाट प्राप्त प्रतिवेदन समेत सम्भाव्यता अध्ययनको क्रममा राखिने हुँदा खानी क्षेत्रमा आवश्यक काम अघि बढाइएको हो ।’सार्वजनिक खरिद नियमावलीअनुरुप अघि बढ्दा सम्भाव्यता अध्ययनको लागि बोलपत्र आह्वान गर्नका लागि केही महिना लाग्नेछ । ‘सार्वजनिक खरिद नियमावलीअनुरुप विभाग अघि बढ्नुपर्नेछ’, उनले भने, ‘त्यसैले गर्दा बोलपत्र आह्वान गर्न करिब छ महिना लाग्न सक्छ भने सम्भाव्यता अध्ययनपछि मात्र हामी विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर)मा लाग्नेछौँ ।’यसैबीच विभागले पनि द्रुतगतिमा काम अघि बढाउँदा समय कम लाग्ने बताएको छ ।

चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन छेन्दुबाट विभागलाई प्राप्त भएको प्रतिवेदनअनुरुप खानीबाट ३६ प्रतिशत शुद्ध फलाम अर्थात् शतप्रतिशत फलामको धाउ निकाल्दा ३६ प्रतिशत शुद्ध फलाम उत्पादन हुन्छ । बाँकी ६४ प्रतिशत फलामको धाउ भने विभिन्न प्रयोजनको लागि प्रयोग हुनेछ भने खानीबाट उत्पादित फलामबाट स्टिल समेत उत्पादन गरिनेछ ।

हुप्सेकोट र बौदीकाली गाउँपालिकाको १० किलोमिटरमा फैलिएको सो फलाम खानीबाट सरकारले चालू आर्थिक वर्ष (०७७÷०७८) देखि व्यावसायिक उत्पादन गर्ने बताउँदै आफ्नो नीति तथा कार्यक्रममा उक्त कार्यक्रम राखेको थियो । द्रुतमार्गबाट काम गरेको खण्डमा सोही समयमा फलाम उत्पादन सम्भव रहेको विभागको भनाइ छ । विभागका अधिकारीहरुले यदि द्रुतमार्गबाट आवश्यक कामकारबाही अघि बढाएमा चालू आवमा व्यावसायिक उत्पादन सम्भव नभए पनि फलाम भने झिक्न सकिन्छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया