Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइच्छाराजको सिभिल होम्स टाट पल्टेको घोषणा हुन मात्र बाँकी !

इच्छाराजको सिभिल होम्स टाट पल्टेको घोषणा हुन मात्र बाँकी !


काठमाडौँ ।

सत्ताको बलमा टालटुल पार्दै आएको भए पनि पूर्वसभासद् इच्छाराज तामाङले सञ्चालन गरेको सिभिल होम्स प्रालि टाट पल्टेको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको अवस्थामा पुगेको छ र सिभिल सहकारीबाट लिएको कर्जाको सावाँ ब्याज तिर्न नसकेर त्यसका सञ्चालक तामाङ छली छली हिँड्ने गरेका छन् ।

– आ.व. २०७३÷०७४ मा सिभिल सहकारीद्वारा ६ अर्ब ८२ करोड ५७ लाख रकमबराबरको कुल कर्जा प्रवाह गरिएकोमध्ये आपसी सम्बन्ध रहेको सिभिल होम्स प्रालिलाई मात्र ५ अर्ब ७६ करोड ७८ लाखको कर्जा प्रवाह भएको देखिन्छ । एउटै ऋणी कम्पनीलाई कुल कर्जा रकमको ८४.५० प्रतिशत कर्जा प्रवाह गरिएको हुँदा सिभिल सहकारीमा उच्च कर्जा जोखिम देखिन्छ । ऋण असुली नभएको अवस्थामा सहकारीको निक्षेपकर्ताहरुको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ उत्पन्न हुने देखिन्छ।

– त्यस्तै आ.व. २०७३÷०७४ को वित्तीय विवरणबमोजिम सिभिल सहकारीद्वारा लगानी गरिएको २ करोड ६९ लाख रकममध्ये २ करोड सिभिल होम्स प्रालिमा लगानी गरिएको छ । सिभिल सहकारीले कर्जा प्रवाह र लगानी गरी आ.व. २०७३।०७४ मा जम्मा ५ अर्ब ७८ करोड ७२ लाख बराबरको रकम सिभिल होम्समा लगानी गरेको देखिन्छ ।

– आ.व. २०७४।०७५ मा सिभिल सहकारीद्वारा ८ अर्ब १३ करोड ६७
लाख ४६ हजार ५ सय ७८
रुपैयाँँ ४४ पैसाबराबरको कुल कर्जा प्रवाह गरिएकोमध्ये आपसी सम्बन्ध रहेको सिभिल होम्स प्रालिलाई मात्र सात अर्ब एक करोड ३७ लाख ११ हजार २ सय
११ रुपैयाँ ३७ पैसाको कर्जा प्रवाह भएको देखिन्छ । एउटै ऋणी कम्पनीलाई कुल कर्जा रकमको ८६.२० प्रतिशत कर्जा प्रवाह गरिएको हुँदा सिभिल सहकारी उच्च कर्जा जोखिम देखिन्छ । ऋण असुली नभएको अवस्थामा सहकारीको निक्षेपकर्ताहरुको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ उत्पन्न हुने देखिन्छ ।

– सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५
रुपैयाँ ९१ पैसा र सिभिल स्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७
रुपैयाँ ८९ पैसाको प्रवाह भएको सो प्रतिवेदनले देखाउँछ । यी सबै व्यापारिक संस्थाका प्रमुख स्वयं इच्छाराज तामाङ हुन् ।
– त्यस्तै आ.व. २०७४।०७५ को वित्तीय विवरणबमोजिम सिभिल सहकारीद्वारा लगानी गरिएको २ करोड ७० लाख ४५ हजार रकममध्ये २ करोड सिभिल होम्स प्रालिमा लगानी गरिएको छ । सिभिल सहकारीले कर्जा प्रवाह र लगानी गरी आ.व. २०७४।०७५ मा जम्मा ७ अर्ब ३ करोड ३७ लाखबराबरको रकम सिभिल होम्समा लगानी गरेको देखिन्छ ।

– सिभिल होम्स प्रालिको आव २०७३।०७४ मा लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी २ अर्ब ४६ करोड ७६ लाख रहेको छ । तसर्थ कम्पनीको नकारात्मक नेटवर्थ भएको कारणले नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ ।
–आव २०७३÷०७४ मा कम्पनीको चुक्ता पुँजी १० करोड र तिर्नुपर्ने ऋण दायित्व ५ अर्ब ७८ करोड ७२ लाख रहेको छ । यसको आधारमा कम्पनीको पुँजी ऋण अनुपात १.७० ः ९८.३० रहेको छ जुन कम्पनीको वित्तीय अवस्था अत्यन्त नाजुक रहेको सूचकको रुपमा लिन सकिन्छ । कम्पनीको अत्यधिक सञ्चित नोक्सानीको कारणले इक्विटी नकारात्मक भएको हुँदा इक्विटी ऋण अनुपात भने गणना गरिएको छैन ।
–कम्पनीको नेटवर्थ नोक्सानीमा रहेको हुँदा कम्पनी ऐन २०६३ को दफा १७६ बमोजिम सिभिल होम्स प्रालिले अन्य कम्पनीलाई सापटी वा कम्पनीमा लगानी गर्न प्रतिबन्ध गरिएको भए पनि नियम उल्लंघन गरी विभिन्न सम्बन्धित व्यक्ति र अन्य कम्पनीहरुमा ५८ करोड ९१ लाखको सापटी र २६ करोड ४६ लाखको लगानी भएको देखिन्छ ।

–पेश्कीअन्तर्गत आ.व. २०७३।०७४ मा आपसी सम्बन्ध भएका कम्पनीका अध्यक्ष इच्छाराज तामाङ्गलाई ३ करोड १२ लाख, सञ्चालक केशवलाल श्रेष्ठ ९० लाख, अमिररत्न शाक्य २ करोड ४५ लाख, सञ्चित कृष्ण श्रेष्ठ २३ लाख १४ हजार, सुवर्ण कृष्ण श्रेष्ठ २ करोड ४७ लाख र सिभिल फर्निचरलाई ३० लाख ८५ हजार उपलब्ध गराइएको देखिन्छ ।
–उल्लिखित अन्तर्सम्बन्ध भएका व्यक्ति, संस्थाहरुलाई प्रवाहित लगानी तथा सापटी फिर्ता असुली हुने समेत पनि शंकास्पद देखिन्छ ।
–कम्पनीको चल÷अचल सम्पत्तिहरु के कस्तो अवस्थामा रहेको, सम्पत्तिको बजार मूल्यको जानकारी प्राप्त नभएको कारणले स्थिर सम्पत्तिबाट कम्पनीले कति रकम प्राप्त गर्छ भन्ने कुराको एकीन हुनसकेको छैन ।

–सिभिल होम्स प्रालिले प्रचलित लेखाप्रणालीअनुसार घर जग्गा मौज्दातलाई लागत वा खुद बिक्री मूल्यमध्ये जुन कम हुन्छ सोही रकममा लेखांकन गर्नुपर्नेमा त्यसो नगरी जग्गालाई पुनर्मूल्यांकन गरी अत्यधिक उच्च बजार मूल्यमा विवरण प्रस्तुत गरेको देखिन्छ ।
–बुकिङबापत प्राप्त भएको पेश्की ८६ करोड ३९ लाख रकम घर जग्गा मौज्दात रकम १ अर्ब ७० करोड ५६ लाखबाट कट्टी गरेपछि उक्त घर जग्गा मौज्दात रकम ८४ करोड १७ लाख मात्र बाँकी रहने देखिन्छ । तसर्थ घरजग्गा धितोबाट ऋण असुली हुने सम्भावना न्यून रहेको छ ।
–ठूलो रकम सहकारीबाट महंगो ब्याजमा ऋण लिएको भए पनि सिभिल होम्स प्रालिले ४ करोड ५० लाख सिभिल सहकारीमै मुद्दती निक्षेप खाता र सिभिल बैंकमा २ करोड १९ लाख मुद्दती निक्षेप खाता खोलेको देखिन्छ । एकातिर चर्को ब्याजसहितको ऋण भार र अर्कोतिर सोहीबाट न्यून ब्याजको निक्षेप लगानी गरिएको हुँदा सोको औचित्य स्पष्ट देखिँदैन ।

–जम्मा ७ अर्ब २२ करोड २६ लाख सम्पत्ति दायित्व भएको सिभिल बचत तथा ऋण सहकारी लिमिटेडले आफ्नो कुल सम्पत्तिको ८१ प्रतिशतभन्दा अधिक कर्जा सापटी एउटै ग्राहक सिभिल होम्स प्रालिलाई प्रवाह गरेको, सहकारीको कुल निक्षेप ६६२.९८ रकममध्ये रु. ५७८.७२ उक्त कम्पनीमा लगानी भएको हुँदा साथै कम्पनी अत्यधिक नोक्सानीमा समेत रहेको हुँदा उक्त कर्जा रकम भुक्तानी गर्न आवश्यक तरल तथा अन्य सम्पत्ति समेत कम्पनीसँग उपलब्ध नभएको अवस्थामा सहकारीको निक्षेपकर्ताहरु अत्यन्त उच्च जोखिममा रहेको देखिन्छ ।
सिभिल होम्स प्रालिको घर जग्गा मौज्दात, स्थिर सम्पत्ति, मुद्दती निक्षेपसहितको नगद तथा बैंक मौज्दातबाहेक अन्य सम्पत्तिबाट कर्जा चुक्ता गर्नसक्ने अवस्था अत्यन्त कम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया