२० जिल्लामा निषेधाज्ञा १६ मा पूरै र चारमा आंशिक
काठमाडौँ ।
कोरोना महामारी बढेपछि १६ जिल्लामा पूरै र चार जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी भएको छ । गृह मन्त्रालयका अनुसार पहिलो चरणमा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । कोरोना बढेमा निषेधाज्ञा थप गर्नसक्ने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ । कोरोना बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा वा लकडाउन गर्न सक्नेछ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी दिएको जानकारीअनुसार बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी र जाजरकोट जिल्लाभर निषेधाज्ञा लगाइएको छ । त्यस्तै, बर्दिया, दार्चुला, कालिकोट र बाग्लुङ गरी चार जिल्लाका केही निश्चित स्थानमा मात्र निषेधाज्ञा लगाइएको छ ।
संघीय राजधानी भएका, महत्वपूर्ण राजमार्ग भएका जिल्लाहरुमा निषेधाज्ञा लगाएपछि अन्य जिल्लाहरु स्वतः प्रभावित भएका छन् । अन्य जिल्लामा निषेधाज्ञा नलगाए पनि मुख्य ठाउँबाट आवतजावत बन्द हुँदा आन्तरिक हिँड्डुल मात्र हुने भएको छ । निषेधाज्ञामा मानिसहरुले अटेर गरेपछि गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्किन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।
निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएको थियो । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारीसाधन पातलो देखिएका थिए । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरू बढी सङ्ख्यामा देखिएका थिए । निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन र व्यक्तिहरुलाई प्रहरीले कारबाही गरेको थियो । प्रहरीले निषेधाज्ञा पालना नगर्नेलाई ‘होल्डिङ सेन्टर’मा राखेर सम्झाइबुझाइ गरेको थियो । काठमाडौंमा मुख्य सडक सुनसान हुँदा भित्री गल्लीमा भने केही पसल खुलेका र मान्छेको आवतजावत भएको थियो ।
काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार बिहीबार बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइनेछैन । आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइनेछैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौँ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी उपत्यकामा बिहीबारदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहनेछ ।
यस्तै, अध्यागमन विभागले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि विदेशबाट स्वदेश आवागमन नियमनका लागि सहजीकरण गरेको जनाएको छ । विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरणसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टको कोरोनाको बढ्दो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विदेशबाट स्वदेश आवागमन नियमनका लागि मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको विभागले उल्लेख गरेको छ ।
यसअनुरूप नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न सक्नेछैनन् । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्नेछन् ।निषेधाज्ञाको अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन चल्न पाउनेछैन ।
सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारीसाधन प्रयोग गर्न पाइनेछ । विकास निर्माणकार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनुपर्नेछ । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका व्यवसाय बन्द गरिएको छ । उपत्यकामा खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइनेछ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैंकबाट इजाजतप्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ । काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्नेछ । पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।
थप चार हजार नौ सय २८ मा कोरोना
बिहीबार देशभर थप चार हजार नौ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार पाँच सय ६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १२ हजार पाँच सय ९७ जनाको पीसीआर र नौ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार आठ सय ३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
बिहीबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार पाँच सय ३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप आठ सय ८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार एक सय ६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ । अहिले देशभर ३४ हजार एक सय १७ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार पाँच सय ६५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार दुई सय ४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा एक हजार पाँच सय ६१ सङ्क्रमित थपिएका छन् ।यसमध्ये काठमाडौँ जिल्लामा एक हजार एक सय २७, ललितपुरमा दुई सय ५२ र भक्तपुरमा एक सय ८२ सङ्क्रमित थपिएका हुन् । उपत्यकाबाहिर पाँच सय २८ र बाँकेमा चार सय ८९ सङ्क्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा तीन सय ३९, मोरङमा एक सय ३७, पर्सामा एक सय ५० र दाङमा एक सय ८१ सङ्क्रमित थपिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया