Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधाज्ञाको अवधिमा कालोसूचीमा राख्न नपाइने

निषेधाज्ञाको अवधिमा कालोसूचीमा राख्न नपाइने

२० करोडसम्मको कर्जालाई विशेष पुनर्कर्जा


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा प्रस्तुुत गर्दै कोभिड–१९ को नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको निषेधाज्ञाको अवधिमा कुनै पनि ग्राहकलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको छ । कोेभिड–१९ को दोस्रो लहर र यसको नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको अवधिमा ग्राहकहरुको कर्जा तिर्ने क्षमतामा समेत कमी आएको भन्दै राष्ट्र बैंकले उक्त व्यवस्था गर्न लागेको हो ।

यसैगरी राष्ट्र बैंकले नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने व्यवस्था कार्यान्वयनमा ल्याउने जानकारी समेत दिएको छ । गभर्नर महाप्रसाद अधिकारीले चालू आवको मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंकदर र ब्याजदर कोरिडोरका व्यवस्थाहरु यथावत् राखिएको जानकारी दिए ।

नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दर (बेस रेट)मा नै कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइने व्यवस्था समेत कार्यान्वयनमा ल्याइने जानकारी गभर्नर अधिकारीले दिएका छन् ।

कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएकोे निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याइने समीक्षामा उल्लेख छ ।

कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएकोे निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएकोे निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दती निक्षेपको नवीकरण, जमानत तथा प्रतीतपत्रको नवीकरण र कर्जाको नवीकरणसम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था मिलाइनेछ । निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने नीतिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षणबापत सेयरको मूल्यांकन गर्दा पछिल्लो एक सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने व्यवस्थालाई निरन्तरता दिइएकोे मौद्रिक नीतिमा उल्लेख छ । कोभिड–१९ बाट विकासित भएको असहज परिस्थितिलाई मध्यनजर गरी ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्क्रिय भएका बैंक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

यसैगरी हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने जानकारी राष्ट्र बैंकले दिएको छ । त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवाजस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइनेछ ।

कोभिड १९ प्रभावित व्यवसायलाई ४२ करोड कर्जा : नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित उद्योगहरुलाई हालसम्म ४२ करोड रुपैयाँ कर्जा दिइएको जानकारी दिएको छ । मंगलबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले उक्त जानकारी दिएका हुन् ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्तसम्म सात वाणिज्य बैंकबाट ३३ ऋणीलाई ४२ करोड कर्जा प्रवाह भएको हो’, गर्भनर अधिकारीले भने ।

विदेशी मुद्रामा खोलिने खाता व्यवस्थामा संशोधन : नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा खोलिने खातासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै विगतमा जारी गरिएको एकीकृत परिपत्र २०७६ अन्तर्गत स्वदेशमा खोलिने विदेशी मुद्राको खाता र सञ्चालनसम्बन्धी व्यवस्थामा संशोधन गरेको हो ।

संशोधित व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट विदेशी मुद्रामा कारोबार गर्न अनुमति प्राप्त निकायको खाता त्यस्तो इजाजतपत्रको अवधि बहाल रहेसम्म मात्र सञ्चालन हुने गरी खोल्नुपर्नेछ । साथै त्यस्तो इजाजतपत्रको अवधि समाप्त भएको ३० दिनभित्र पनि इजाजतपत्र नवीकरण भएको प्रमाण वा विदेशी विनिमय विभागको स्वीकृति पत्र पेस नगरेमा त्यस्ता खाता सञ्चालनमा पूर्णरुपमा रोक लगाउनुपर्नेछ । विदेशीलाई सेवा बिक्री गरी विदेशबाट प्राप्त भएको रकम त्यस्तो खातामा जम्मा मात्र गर्ने गरी स्वीकार गर्न सकिनेछ ।

‘तर कोभिड १९ को रोकथाम तथा न्यूनीकरणको लागि नेपाल सरकारबाट जारी भएको निषेधाज्ञा रहुञ्जेलसम्म र निषेधाज्ञा औपचारिकरुपमा समाप्त भएको ३० दिनको अवधिसम्म इजाजतपत्रप्राप्त निकायको इजाजत नवीकरण नभएको अवस्थामा समेत यथास्थितिमा खाता सञ्चालन गराउन बाधा पर्नेछैन’, परिपत्रमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया