Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरमा ५५ लाख जरिवाना गरिएका श्रेष्ठ र मिश्र पक्राउ

बैंकिङ कसुरमा ५५ लाख जरिवाना गरिएका श्रेष्ठ र मिश्र पक्राउ


काठमाडौं । नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले मंगलबार बैंकिङ कसुर मुद्दामा फरार दुई अभियुक्तहरु गणेशमान श्रेष्ठ र महेन्द्र प्रसाद मिश्रलाई पक्राउ गरेको जानकारी दिएका हुन् । उनीहरु ललितपुर र काठमाडौंबाट पक्राउ परेका हुन् ।

प्रवक्ता प्रहरी उपरीक्षक महतोका अनुसार महालक्ष्मी नगरपालिका वडा नं. ४ घर भई काठमाडौं महानगरपालिका वडा नं. १० थापागाउँ बस्ने श्रेष्ठलाई ललितपुरको लामाटारबाट र काठमाडौं जिल्ला का.म.न.पा.वडा नं. १९ ढोकाटोल घर भई शान्तिनगर बस्ने मिश्रलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

श्रेष्ठलाई सहारा राणाको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले दोषी ठहर गरेको थियो । उनीविरुद्ध १५ दिन कैद र ५५ लाख जरिवाना हुने ठहर भएको थियो । तर उनी उक्त सजाय बेरुजु रही फरार थिए । श्रेष्ठलाई सीआईबीबाट खटिएको टोलीले मंगलबार ललितपुरको लामाटारबाट पक्राउ गरेको हो ।

यसैगरी मिश्रविरुद्ध भने डोमा याङ्छेनले जाहेरी दिएकी थिइन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनीविरुद्ध २०७६ मंसिर २२ गते फैसला सुनाउँदै सात दिन कैद र ५२ लाख जरिवाना हुने ठहर गरेको थियो । सो पश्चात् मिश्र उक्त सजाय बेरुजु रही फरार रहँदै आएका थिए । सीआईबीबाट खटिएको टोलीले मंगलबार उनलाई महाराजगञ्जबाट पक्राउ गरेको प्र्रवक्ता महतोले जानकारी दिए ।

सीआईबी टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाहरुमा दोषी ठहर उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं र ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । दुवैले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा जानी–जानी जाहेरवालाहरुलाई झुक्याई माछापुच्छ्रे र सेन्चुरी बैंकका विभिन्न रकमका चेकहरु काटिदिएका थिए ।

काठमाडौंको वसुन्धाराबाट ८० हजार नक्कली रुपैयाँ बरामद
महानगरीय प्रहरी प्रभाग तिलिङगेटारको प्रहरी टोलीले टोखाबाट ८० हजार नक्कली रुपैयाँ बरामद गरेको छ । प्रहरी टोलीले टोखा नगरपालिका–५ वसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो ।

टोखाकै अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्ने बहाना बनाई बा.६८प ७११० नम्बरको रातो स्कुटरमा आएका दुई जना महिलाहरुले दुई लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोजेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै प्रहरी सोही स्थानमा पुगेको थियो । तर ती महिला भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुले ८० हजार नक्कली नोट पसलमा छोडी फरार भएका थिए । प्रहरीले महिलाको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x